काठमाडौं । नेपाली युवाहरुले अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक “बालेन कप २०२६” भलिवल प्रतियोगिता आयोजना गर्दैछन् । रेड राईनोज भलिवल क्लब सिड्नीले आयोजना गर्न लागेको प्रतियोगिता आगामी शनिबार (४ अप्रिल) अबर्न बास्केटबल सेन्टर, लिडकाँम्बेमा हुँदैछ ।
बिहान ७ः३० बजेबाट साँझ ८ बजेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषहरूतर्फ (४–ए साइड) र महिलाहरू तर्फ (६–ए साइड) का खेलाडीहरू सहभागी हुनेछन् । प्रतियोगितामा सहभागीताका लागि विशेष गरी ३५ वर्ष माथिका क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुका लागि खुला राखिएको छ । खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको एनभीए जापानका पूर्व उपाध्यक्ष एव् प्रतियोगिताका आयोजक मदन साउदले बताए ।
प्रतियोगिताले खेलकुद मात्र नभई नेपाली समुदायबीचको आपसी मेलमिलाप र सहकार्यलाई पनि बढाउने बताउदै उनले सहभागी हुन सम्पूर्ण नेपालीमा आग्रह गरे । यस अवसरमा सांस्कृतिक नृत्य प्रस्तुतिहरू पनि हुनेछन्, जसले खेलाडी, दर्शक र पाहुनालाई मनोरञ्जन प्रदान गर्नेछ । आयोजक कमिटीमा मिलन कार्की (टिम कोच), प्रविण कुँवर (टिम म्यानेजर), खेलाडीहरु विजय आचार्य, केशव छन्त्याल, राजकुमार छन्त्याललगायतका छन् ।
एभ्रेष्ट ग्लोवल भीसा टाइटल प्रायोजक रहेको प्रतियोगितामा पुरुषतर्फ विजेता टीमलाई १५ सय डलर, ट्रफी, पदक र प्रमाणपत्र र उपविजेता टीमलाई १ हजार डलर, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, महिलातर्फ विजेता टीमलाई ८ सय डलर, ट्रफी, पदक र प्रमाणपत्र र उपविजेता टीमलाई ५ सय डलर, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, सर्वोत्कृष्ट हुने खेलाडीलाई १ सय डलर, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, पुरुषतर्फ सर्वोत्कृष्ट स्पाइकर, सेरभर, सेटर, ब्लकलाई ५० डलर नगद, ट्रफी, पदक र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
दुई कोर्टमा खेलाइने प्रतियोगितामा कोर्ट १ तर्फ पहिलो खेल बिहान ८ बजेदेखि जलजला र एभरेस्ट ग्लोबल, बिहान ९ः१५ देखि म्याग्दी काली र पर्वत बेनी ‘बी’ बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, महिलातर्फ मंगला र जलजलाबीचको खेल बिहान १०ः१५ देखि, दिउँसो १२ः१५ देखि म्याग्दी काली र बुकिपाटन, दिउँसो १ः१५ देखि पोखरा र विजेता टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, कोर्ट २ तर्फका खेलहरुमा बिहान ८ बजे छन्त्याल र रेड राईनोज ‘बी’, बिहान ९ः१५ देखि पर्वत बेनी ‘ए’ र मोना, बिहान १०ः१५ देखि गुरखा बोइज र विजेता टोली, दिउँसो १२ः१५ देखि मंगला र विजेता टोली, दिउँसो १ः१५ देखि रेड राईनोज ‘ए’ र विजेताबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल तथा फाइनलका खेलहरु साँझसम्म संचालन हुनेछ ।
