काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध प्रतिस्पर्धा गर्दै एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेल खेल्दैछ।
लाओसको भियन्टियानस्थित लाओ राष्ट्रिय रंगशालामा हुने उक्त खेल नेपाली समय अनुसार साँझ ५:४५ बजेदेखि सुरु हुनेछ।
लाओसविरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, क्रितिश रत्न छुन्जु, मणी कुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा डोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, समित श्रेष्ठ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का रहेका छन्।
यो खेल नेपाली राष्ट्रिय टिमका नयाँ मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको पहिलो खेल पनि हो। प्रशिक्षक एरेनाका लागि यो खेल आफ्नो रणनीति र टोली संयोजन परीक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
अहिलेसम्मको प्रदर्शनअनुसार नेपाल र लाओस दुवैले पाँच खेलबाट समान ३-३ अंक जोड्दै छनोट चरणबाट बाहिरिइसकेका छन्। त्यसैले आजको खेल प्रतिष्ठाका लागि मात्र सीमित रहनेछ।
यस खेलले भविष्यका प्रतियोगिताका लागि टोलीको तयारी र सम्भावनाबारे संकेत दिने अपेक्षा गरिएको छ।