काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका अनलाइन सट्टेबाजी (बेटिङ) एप र वेबसाइट २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरू सहभागी थिए। मन्त्री तिमिल्सिनाले बेटिङ एप तथा त्यससँग सम्बन्धित सबै डिजिटल प्लेटफर्म तत्काल बन्द गर्न स्पष्ट निर्देशन दिएका छन्।
निर्देशनसँगै नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयन प्रक्रिया सुरु गरिसकेको जनाएको छ। प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालका अनुसार इन्टरनेट सेवा प्रदायक (अपरेटर्स)लाई निर्देशन दिई बेटिङ एप र वेबसाइट बन्द गर्ने कार्य अघि बढाइएको छ।
यसअघि चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन बेटिङ नियन्त्रण गर्न निर्णय गरेको थियो। सो निर्णयअनुसार शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको ४२ नम्बर बुँदामा २४ घण्टाभित्र यस्ता एप तथा वेबसाइट बन्द गर्ने व्यवस्था गरिएको छ।
सरकारले अवैध आर्थिक कारोबार तथा पुँजी पलायन नियन्त्रण गर्ने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। पछिल्लो समय अनलाइन बेटिङ एपमार्फत ठूलो मात्रामा रकम विदेशिने र गैरकानुनी कारोबार बढेको भन्दै सरकार दबाबमा थियो। बैठकमा मन्त्री तिमिल्सिनाले मन्त्रालयका विभिन्न महाशाखाहरूलाई जनतालाई छिटो र प्रभावकारी सेवा प्रदान गर्ने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्। उनले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप चुस्त बनाउन जोड दिएका छन्।
त्यस्तै, ‘डिजिटल शासन’ र ‘डेटा गभर्नेन्स’लाई प्राथमिकतामा राख्दै समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा पनि उनले जोड दिए। मन्त्रालयका कामहरूको दैनिक समीक्षा गर्ने तथा मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश गर्ने प्रणाली विकास गरिने समेत मन्त्री तिमिल्सिनाले बताएका छन्।