काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि सेयर बजारमा सकारात्मक उछाल आउने अपेक्षा गरिएको थियो। तर, अपेक्षाविपरीत लगानीकर्ताहरू निराश देखिँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा सीमित भएको छ।
कारोबार सुरु भएलगत्तै बजार ओरालो लागे पनि दिनभर उतारचढाव देखिएको थियो। अन्ततः दिनको अन्त्यमा बजार उच्च अंकले घटेर बन्द भयो। यसदिन ३३३ कम्पनीका ३ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर १५ अर्ब ३ करोड रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएका छन्।
राजनीतिक घटनाक्रमले बजारमा प्रत्यक्ष असर पारेको विश्लेषकहरू बताउँछन्। जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ। यसले लगानीकर्तामा अनिश्चितता बढाउँदै ‘पर्ख र हेर’को अवस्था सिर्जना गरेको देखिन्छ।
उच्च गिरावटबीच पनि केही कम्पनीका सेयर भने सकारात्मक सर्किट लेभलमा पुगे। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइज इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो, जसको ७१ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी नगदी ग्रुप पावर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेसनल हाइड्रोपावर पनि उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा परे।
कुल कारोबार भएका कम्पनीहरूमध्ये केवल १० वटाको सेयर मूल्य बढ्दा २५५ वटाको घटेको छ भने १ वटाको मूल्य स्थिर रह्यो। सबै १३ उपसूचकहरू नकारात्मक देखिएका छन्, जसले बजारमा व्यापक गिरावटको संकेत गर्दछ।
विश्लेषकहरूका अनुसार राजनीतिक स्थिरता कायम नभएसम्म बजारमा सुधार आउने सम्भावना कमजोर देखिएको छ।