काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले विश्वकै चर्चित ट्वान्टी-२० फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करणको पूर्ण तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी मार्च २८ देखि सुरु हुने भएको छ।
यसपटकको उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ। नयाँ तालिका अनुसार लिग चरणमै मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच दुई पटक रोमाञ्चक भिडन्त हुने तय गरिएको छ। प्रतियोगितामा यस वर्ष टोलीहरूलाई उपाधि जितेका आधारमा दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किंग्स रहेका छन्।
त्यसैगरी समूह ‘बी’ मा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स समावेश छन्।
यसपटक बीसीसीआईले प्रतियोगिताको ढाँचामा परिवर्तन गर्दै एउटै समूहका टोलीहरूबीच एक पटक मात्र प्रतिस्पर्धा गराउने व्यवस्था गरेको छ भने अर्को समूहका टोलीहरूसँग दुई पटक खेल्ने नियम लागू गरिएको छ। यही कारण मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच अप्रिल २३ मा मुम्बई र मे २ मा चेन्नईमा दुई खेल हुनेछन्। त्यस्तै, मुम्बई र बेंगलुरुबीच पनि दुई खेल हुनेछन्।
लिग चरणअन्तर्गत कुल ७० खेलहरू भारतका १२ विभिन्न स्थानमा सञ्चालन गरिनेछन्। रोयल च्यालेन्जर्स बेंगलुरुले रायपुरलाई आफ्नो दोस्रो घरेलु मैदानका रूपमा चयन गरेको छ भने धर्मशालाको मैदान लामो समयपछि तालिकामा फर्किएको छ, जहाँ मे ११ मा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच खेल हुनेछ।
तालिकाअनुसार १२ खेल दिउँसोका लागि तय गरिएका छन्, जसमा पञ्जाब, हैदराबाद र दिल्लीले सर्वाधिक ३–३ खेल खेल्नेछन्। लिग चरण मे २४ सम्म चल्नेछ भने प्ले(अफ र फाइनलको मिति औपचारिक रूपमा घोषणा नभए पनि मे ३१ मा फाइनल हुने अनुमान गरिएको छ।
नयाँ ढाँचा, प्रतिस्पर्धात्मक समूह विभाजन र चर्चित टोलीहरूको भिडन्तका कारण आईपीएलको यो संस्करण अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।