काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लुम्बिनी प्रदेशबाट झण्डै ८९ हजार विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लाबाट कुल ८८ हजार ९६५ परीक्षार्थी परीक्षा दिनेछन्।
नियमिततर्फ साधारण र प्राविधिक धारका ७२ हजार ४४ जना तथा ग्रेडवृद्धितर्फ १६ हजार ९२१ जना विद्यार्थी सहभागी हुनेछन्। परीक्षा सञ्चालनका लागि प्रदेशभर ३३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या ५ हजार ९४३ ले घटेको छ। अघिल्लो वर्ष ९४ हजार ९०८ विद्यार्थी सहभागी भएका थिए। यस वर्षको परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
निर्देशनालयका सूचना अधिकारीका अनुसार परीक्षा शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सञ्चालन गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। परीक्षा व्यवस्थापनमा खटिने केन्द्राध्यक्ष, निरीक्षक लगायत जनशक्तिलाई अभिमुखीकरण गरिनेछ भने आवश्यक सुरक्षाकर्मी पनि परिचालन गरिनेछ।
जिल्लागत रूपमा हेर्दा रुपन्देहीमा सबैभन्दा बढी २१ हजार ३०० परीक्षार्थी रहेका छन् भने रुकुम पूर्वमा सबैभन्दा कम ९१३ परीक्षार्थी छन्। दाङ, बाँके, कपिलवस्तु लगायत जिल्लामा पनि उल्लेख्य संख्यामा विद्यार्थी सहभागी हुँदैछन्।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले देशभरका ७७ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याइसकेको जनाएको छ। ती सामग्री जिल्ला प्रहरी कार्यालयमार्फत परीक्षा केन्द्रसम्म पुर्याइनेछ।
देशभर यस वर्ष ५ लाख ९ हजार विद्यार्थी एसईईमा सहभागी हुनेछन् भने १ हजार ९९१ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षालाई व्यवस्थित र निष्पक्ष बनाउन सबै पक्षलाई सहयोग गर्न आह्वान गरिएको छ।