काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत देशभर ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको जनाएको छ।
मार्च १६ देखि २२ सम्म सञ्चालन भएको उक्त अभियानमार्फत सातै प्रदेशका कुल ११ हजार ८७ विद्यार्थी लाभान्वित भएका छन्। यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित विश्वभर मनाइएको अभियानमा बैंकले विभिन्न स्थानमा वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको हो।
अभियानअन्तर्गत विद्यार्थी तथा युवाहरूलाई बचत, लगानी, डिजिटल बैंकिङ, तथा वित्तीय ठगीसम्बन्धी विषयमा अभिमुखीकरण गरिएको बैंकले जनाएको छ। कार्यक्रम बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन गरिएको थियो।
प्रदेशगत रूपमा कोसी प्रदेशमा २,०६४, मधेस प्रदेशमा १,३८१, बागमती प्रदेशमा २,६०८, गण्डकी प्रदेशमा १,२७८, लुम्बिनी प्रदेशमा १,३३८, कर्णाली प्रदेशमा १,५०४ र सुदूरपश्चिम प्रदेशमा ९१४ विद्यार्थीले साक्षरता कार्यक्रमबाट लाभ लिएका छन्। बैंकले वित्तीय साक्षरता अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न शैक्षिक सामग्री उत्पादन तथा प्रसारणसमेत गर्दै आएको जनाएको छ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। साथै, नबिल एसएसई पहलमार्फत सामाजिक उद्यमशीलता, रोजगारी सिर्जना र दिगो विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।