काठमाडौं । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान प्रवेश गरेको छ।
मकवानपुरमा आयोजित दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत आइतबार बिहान सम्पन्न अन्तिम सेमीफाइनल खेलमा केशवलाल प्रतिष्ठानले लुम्बिनी प्रदेश, पाल्पाको स्टेप भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
केशवलाल प्रतिष्ठानले स्टेप भलिबल क्लबलाई २५-१६, २५-७ र २५-२० को सेटमा हराउँदै प्रभावशाली जित दर्ता गरेको थियो। अब फाइनल खेलमा केशवलाल प्रतिष्ठानले काठमाडौंको न्यू डायमण्ड क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आइतबार दिउँसो १ बजे हुने उक्त खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
न्यू डायमण्ड क्लब समूह ‘ए’ बाट अपराजित रहँदै सेमीफाइनलमा पुगेको हो भने स्टेप भलिबल क्लब समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको थियो।
प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछ। सेमीफाइनलमा पराजित हुने दुई टोलीलाई जनही ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा मकवानपुर जिल्ला भलिबल सङ्घ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टोलीको सहभागिता रहेको थियो।
यसअघि आयोजित संस्करणमा विभागीय टोली एपीएफ क्लब(सशस्त्र प्रहरी बल)ले उपाधि जितेको थियो। एपीएफले फाइनल खेलमा न्यू डायमण्ड क्लबलाई ३-१ सेटले पराजित गरेको थियो।