काठमाडौँ । उर्लाबारी मा शनिबार दिउँसो दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका-४ आइतबारे क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको अर्को बस ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोरङ, झापा र सुनसरीका यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूमा गंगाराम गुरुङ, कृष्ण लिम्बू, छविमाया तामाङ, रुपेश तामाङ, कूलबहादुर लिम्बू, मिकुमाया लिम्बू, आशिष चौधरी, जितबहादुर राई, निशा लिम्बू, कौशिला रिजाल, सुजन लिम्बू, प्रदीप लिम्बू र रनबहादुर तामाङ रहेका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारी का प्रमुख प्रहरी निरीक्षक रञ्जन बरालको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूलाई तत्कालै अरनिको अस्पताल मा उपचारका लागि पठाएको थियो। केही घाइते उपचारपछि घर फर्किएका छन् भने अस्पतालमा उपचाररतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै बस र चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकहरू लेखबहादुर कटवाल र सन्देश सिवाकोटीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।