काठमाडौं । इरानी सुरक्षा फौजले नियन्त्रणमा लिएका नेपाली नागरिकको पहिचान खुलेको छ । उदयपुरको गाईघाट निवासी ३० वर्षीय अमृत झा इरानको बन्दर अब्बास बन्दरगाह नजिकैबाट पक्राउ परेको पुष्टि भएको हो।
परिवारका अनुसार, अमृतले करिब आठ दिनअघि एउटा अपरिचित नम्बरबाट व्हाट्सएपमार्फत पठाएको भ्वाइस सन्देशमा आफूलाई इरानी सेनाले हिरासतमा राखेको बताएका थिए। उक्त सन्देशमा उनले आफू मात्र नभई केही भारतीय नागरिकहरू पनि सँगै नियन्त्रणमा रहेको जानकारी दिएका छन्।
अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए र ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीअन्तर्गत जहाजमा कार्यरत थिए। उनका दिदी पूजा झाका अनुसार, जनवरी १२ मा भएको अन्तिम फोन संवादमा अमृतले काम सकिएपछि सिधै नेपाल फर्किने बताएका थिए। तर, त्यसपछि अचानक पक्राउ परेको खबर आएपछि परिवार चिन्तित बनेको छ।
अमृतको सुरक्षित रिहाइका लागि परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिइसकेको छ। परराष्ट्र मन्त्रालयका अनुसार, एक नेपाली नागरिक इरानको नियन्त्रणमा रहेको पुष्टि भए पनि इरानी पक्षबाट औपचारिक जानकारी भने प्राप्त भएको छैन। कतारस्थित नेपाली दूतावासमार्फत यस विषयमा थप विवरण संकलन गर्ने प्रयास भइरहेको जनाइएको छ।
पछिल्लो समय इरान र अमेरिका तथा इजरायलबीच बढ्दो तनावका कारण हर्मुज जलघाटी क्षेत्रमा सुरक्षा निगरानी कडा बनाइएको छ। अन्तर्राष्ट्रिय समुद्री संगठनका अनुसार, उक्त क्षेत्रमा हजारौं जहाज र श्रमिकहरू प्रभावित भएका छन्, जसले खाद्यान्न र खानेपानीको अभावसमेत झेलिरहेका छन्।
यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षाप्रति थप चिन्ता उत्पन्न गरेको छ।