काठमाडौं । चैत २ गते आएको तीव्र हावाहुरीका कारण चितवन जिल्ला मा करिब ४ करोड रुपैयाँ बराबरको व्यावसायिक केराखेतीमा ठूलो क्षति पुगेको छ। जिल्लाका विभिन्न स्थानीय तहमा फैलिएको केराखेती प्रभावित हुँदा करिब ७ सय किसान मारमा परेका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार प्रभावित क्षेत्रहरूको अनुगमनका क्रममा २० वटा फार्ममा क्षति मूल्याङ्कन गरिएको थियो। उनका अनुसार केही बगानमा १ प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति पुगेको पाइएको छ।
हावाहुरीले विशेषगरी भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकाका विभिन्न वडामा बढी प्रभाव पारेको छ। केराखेतीमध्ये मालभोग जातमा सबैभन्दा बढी, करिब ७८ प्रतिशत क्षति भएको छ भने जी-नाइन जातमा २२ प्रतिशत क्षति पुगेको छ। समग्रमा ४३.३५ प्रतिशत केराखेती प्रभावित भएको तथ्याङ्कले देखाएको छ।
केरा सुपरजोन चितवन का संयोजक विष्णुहरिले बिमा प्रक्रिया ढिलो हुने कारण किसान थप समस्यामा परेको बताए। उनका अनुसार गत वर्षको क्षतिपूर्ति समेत हालसम्म प्राप्त नभएकाले किसानमा निराशा बढेको छ।
यस्तै, चितवन केरा उत्पादक सङ्घ का अध्यक्ष घननाथ महतोले यस वर्ष हावाहुरी चाँडै आएका कारण उत्पादनको तयारी अवस्थामा रहेका बगानमा ठूलो क्षति पुगेको बताए। जिल्लामा करिब दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ। रत्ननगरका किसान बाबुराम भट्टले भाडामा लिएको जमिनमा लगाएको केराखेती हुरीले ढालेपछि थप आर्थिक भार परेको गुनासो गरे। उत्पादन लिने समयमै बोटहरू ढलेपछि अहिले बगान सरसफाइमा थप खर्च गर्नुपर्ने अवस्था आएको उनले बताए।
किसानहरूले करिब ४ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै बिमा कम्पनीमा निवेदन दिएका छन्। यद्यपि, सबै किसानले बिमा नगरेकाले यकिन तथ्याङ्क आउन अझै समय लाग्ने जनाइएको छ।