काठमाडौँ । अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले व्यावसायिक फुटबल करिअरमा ९०० गोल पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनी यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्।
बुधबार इन्टर मियामी र नासभिल एससी बीच भएको ‘कनकाकाफ च्याम्पियन्स कप’ खेलमा गोल गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन्। अमेरिकाको टेनेसीस्थित जियोडिस पार्कमा भएको खेलको सुरुवाती सात मिनेटमै उनले ९००औँ गोल गरेका थिए।
३८ वर्षीय फरवार्ड मेसीले सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएयता ९२ खेलमा ८१ गोल गर्दै क्लबलाई महत्वपूर्ण सफलता दिलाएका छन्। उनको योगदानमा टोलीले लिग कप र एमएलएस कप जित्न सफल भएको छ।
विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने मेसीले हालसम्म आठ पटक ‘बालोन डि’ओर’ जितिसकेका छन्। उनले एफसी बार्सिलोना, पेरिस सेन्ट जर्मेन र अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै गोलको कीर्तिमान कायम गरेका छन्। बार्सिलोनामा १७ वर्षभन्दा बढी समय बिताएका मेसीले ७७८ खेलमा ६७२ गोल गरेका थिए। त्यसपछि पिएसजीमा दुई सिजन खेल्दै ७५ खेलमा ३२ गोल गरेका उनले हालसम्म अर्जेन्टिनाका लागि १९६ खेलमा ११५ गोल गरेका छन्।
तथ्यांक अनुसार मेसीका अधिकांश गोल बायाँ खुट्टाबाट आएका छन्। उनले ७५५ गोल बायाँ खुट्टाले, १११ दायाँ खुट्टाले र ३० गोल हेडरमार्फत गरेका छन्। त्यस्तै, ७२४ गोल पेनाल्टी क्षेत्रभित्र र १७६ गोल बाहिरबाट गरेका छन्। साथै ११२ गोल पेनाल्टी र ७० गोल फ्रि-किकमार्फत गरेका छन्।
मेसीभन्दा अगाडि ९०० गोल पूरा गर्ने एक मात्र खेलाडी उनका दीर्घकालीन प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो हुन्। रोनाल्डोले सन् २०२४ मा यो उपलब्धि हासिल गरेका थिए र हाल उनको कुल गोल संख्या ९५० भन्दा बढी पुगेको छ। ब्राजिलका महान खेलाडी पेले र रोमारियो पनि उच्च गोलकर्तामध्ये पर्छन्, यद्यपि आधिकारिक तथ्यांकमा उनीहरू मेसी र रोनाल्डोभन्दा पछाडि छन्।
इन्टर मियामीका प्रशिक्षक जाभियर मास्चेरानो ले मेसीलाई “अद्वितीय खेलाडी” भन्दै उनको उपलब्धि असाधारण रहेको बताएका छन्। उनले भने, “९०० गोलको संख्या कल्पना गर्नै गाह्रो छ, मेसी वास्तवमै संसारमा अरु कोही जस्तो छैनन्।”
सन् २०१२ मा एकै वर्ष ९१ गोल गर्दै विश्व कीर्तिमान बनाएका मेसीले अझै पनि आफ्नो उत्कृष्ट लय कायम राख्दै फुटबल इतिहासमा नयाँ-नयाँ अध्याय लेखिरहेका छन्।