काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने बेल्जियममा आयोजना हुने इयू टी-२० लिगमा लिइज रेड लायन्सबाट खेल्ने भएका छन्।
रेड लायन्सले सन्दीपलाई ड्राफ्टअघि नै प्रि-साइन गर्दै टोलीमा अनुबन्ध गरेको हो। यसअघि टोलीले क्रिस लिन, कोरी एन्डर्सन र सोएब मलिकलाई समेत भित्र्याइसकेको छ। इयू टी-२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो, जुन बेल्जियन क्रिकेट फेडरेसनले आयोजना गर्न लागेको हो। लिग आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ।
लिगमा ६ फ्रेन्चाइज टोली सहभागी हुनेछन्, जसमा लिइज रेड लायन्ससहित जेबी ब्रुजेज, आन्थ्रोप एङकर्स, ब्रसेल्स, हेन्ट र लुभेन रहेका छन्। प्रतियोगिता राउन्ड-रोबिन आधारमा खेलाइनेछ र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्। नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले लगानी गरिएको यस लिगमा नेपालका १५ भन्दा बढी खेलाडी ड्राफ्टमा दर्ता भएका छन्। ड्राफ्ट आगामी २४ मार्चमा ब्रसेल्समा हुने तय गरिएको छ।
प्रत्येक टोलीमा १८ खेलाडी रहने व्यवस्था गरिएको छ, जसमा बेल्जियन, एसोसिएट राष्ट्र, पूर्ण सदस्य राष्ट्रका खेलाडी र अनुभवी ‘भेट्रान’ खेलाडीहरूको मिश्रण रहनेछ। इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गन लिगका ग्लोबल ब्रान्ड एम्बेसडर रहेका छन् भने जेम्स भिन्स, एलेक्स हेल्स, एन्जेलो म्याथ्यूज र वानिन्दु हसरंगा जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ।
सन्दीपको सहभागिताले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय उपस्थिति थप मजबुत हुने विश्वास गरिएको छ।