काठमाडौं । पृथ्वी राजमार्ग विस्तार अन्तर्गत नागढुङ्गा-मुग्लिन सडक खण्डमा बिजुलीका पोल नसारिँदा निर्माण कार्य प्रभावित बनेको छ। विशेषगरी पूर्वी खण्डका विभिन्न स्थानमा पोल हटाउने कार्य ढिलो हुँदा सडक विस्तारको कामले अपेक्षित गति लिन सकेको छैन।
नौबिसे, धार्के बजार, गल्छी गाउँपालिकाका बन्छेटार, जरेखेत, बेल्खु तथा गजुरी गाउँपालिकाका घाटबेँसी, पोखरेखोला र गजुरी बजार आसपासका क्षेत्रमा काम अवरुद्ध भएको छ। सडक छेउमा रहेका पोलका कारण कतिपय स्थानमा कालोपत्र अधुरो छ भने कतै ग्राभेल बिछ्याएरै काम रोकिएको अवस्था छ।
आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार, पोल सार्ने जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणको भए पनि ढिलासुस्तीका कारण निर्माण कार्यमा अवरोध आएको हो। उनका अनुसार, सार्नुपर्ने करिब ५०० पोलमध्ये अझै करिब १०० पोल बाँकी छन्, जसले मुख्य खण्डको काम प्रभावित बनाएको छ।
सडक विभाग र नेपाल विद्युत् प्राधिकरणबीच पोल सार्ने खर्च आयोजनाले व्यहोर्ने सहमति भए पनि कार्यान्वयन कमजोर देखिएको छ। प्राधिकरणले ठेकेदारमार्फत काम गराइरहेको भए पनि प्रगति सन्तोषजनक छैन। उता, नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेशका इन्जिनियर शेरबहादुर सुनारले भने काम भइरहेको दाबी गर्दै व्यावहारिक कठिनाइका कारण केही ढिलाइ भएको बताएका छन्।
निर्माणस्थलमा पोल वरिपरि खनिएका खाल्डाखुल्डी र अधुरा संरचनाका कारण यात्रुका लागि जोखिमसमेत बढेको छ। सम्बन्धित निकायबीच समन्वय अभाव र ठेकेदारको ढिलासुस्तीले राष्ट्रिय महत्वको यस आयोजनामा चुनौती थपिएको देखिन्छ।