काठमाडौं । भैरहवा क्षेत्रका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयात नियमित भइरहेको सरकारी तथ्यांकले देखाए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।
स्थानीय उपभोक्ताका अनुसार एउटा ग्यास सिलिन्डर किन्नका लागि दिनभरि पसल-पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। ग्यास विक्रेताहरूले मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेका छन् भने पसलहरूमा ग्यास लिन आउनेको लामो लाइन लाग्ने गरेको छ।
स्थानीय प्रदीप ज्ञवालीका अनुसार लामो समयसम्म पालो कुर्दा पनि ग्यास नपाउँदा दैनिक भान्छा चलाउन समस्या भएको छ। नियमित रूपमा खाना पकाउन समेत ग्यास नपाउने अवस्था आउँदा उपभोक्ताको दैनिकी कष्टकर बन्दै गएको उनले बताए। यता ग्यास विक्रेताहरूले भने ग्यास कम्पनीबाट पर्याप्त आपूर्ति नहुँदा बजारमा अभाव देखिएको दाबी गरेका छन्। मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई ग्यास उपलब्ध गराउन कठिन भएको उनीहरूको भनाइ छ।
तर भैरहवा भन्सार कार्यालयले भने ग्यास आयात नियमित रूपमा भइरहेको जनाएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ। दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको उनले बताए।
स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशंकामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित संख्यामा बिक्री हुने ग्यास सिलिन्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ।
यसैबीच सीमावर्ती क्षेत्रमा भने नेपालबाट भारततर्फ ग्यास सिलिन्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रबाट ग्यास सिलिन्डर भारततर्फ तस्करी हुने गरेको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा जाँचलाई थप कडाइ गरिएको छ।
यसैबीच, इलाका प्रहरी कार्यालय बेलहियाले भारततर्फ लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिन्डर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सीमामा निगरानी बढाउँदै अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको बताएको छ।