काठमाडौं । पश्चिम एसियामा बढ्दो द्वन्द्वका बीच उद्धार तथा आवश्यक सहायताका लागि हालसम्म ६५ हजार ८८६ नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत आफ्नो विवरण दर्ता गरेका छन्।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा उक्त संख्यामा नेपालीले विवरण दर्ता गराएका हुन्। मन्त्रालयका अनुसार दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार थप कारबाही प्रक्रिया अघि बढाइएको छ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्किएको छ। त्यसपछि उक्त क्षेत्रमा रहेका नेपाली नागरिकको उद्धार तथा सहायताका लागि विभागले फागुन १८ गतेदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको थियो। कन्सुलर सेवा विभागका महानिर्देशक दुपर्दा सापकोटाका अनुसार पश्चिम एसियामा रहेका नेपाली राजदूतावासमार्फत नेपाली नागरिकको विवरण संकलन गर्ने काम जारी रहेको छ।
यसैबीच परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न त्यहाँस्थित नेपाली नियोगहरू निरन्तर सक्रिय रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार समस्यामा परेका नेपालीको उद्धार र सहायताका लागि निरन्तर समन्वय भइरहेको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बैठकले समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य माध्यमबाट सम्पर्क गरी मनोबल बढाउन तथा आवश्यक प्रतिवेदन तयार पार्न पश्चिम एसियास्थित सबै नेपाली नियोगलाई निर्देशन दिएको छ।
मन्त्रालयले पश्चिम एसियामा रहेका सबै नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन तथा कानुनविपरीत कुनै पनि फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदानप्रदान नगर्न अनुरोध गरेको छ।