काठमाडौं । इनिसा विकको बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न माग गर्दै बुधबार दिउँसो ‘खबरदारी र्याली’ निकालिएको हो।
प्रदर्शनमा सहभागीहरूले ‘इनिसालाई न्याय देऊ’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले महिलामाथि हुने हिंसा तथा बलात्कारजस्ता जघन्य अपराध रोक्न राज्य गम्भीर हुनुपर्ने माग पनि गरेका छन्।
वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको र्याली यरीचोक र वीरेन्द्र चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको मृतकका आफन्त चन्द्रबहादुर विकले जानकारी दिए। ध्यानाकर्षण पत्र बुझाएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि धर्ना बस्ने कार्यक्रम समेत रहेको बताइएको छ।
इनिसा २३ फागुन बिहान वीरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई प्रदेश अस्पताल कालागाउँ पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै २५ फागुनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न भएको आरोपमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। पक्राउ परेका चारै जना १८ वर्षमुनिका नाबालक रहेका छन्।
प्रहरीले २३ फागुन दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका लागि २४ फागुनमा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको जनाएको छ। घटनामा सामूहिक बलात्कार भएको वा नभएको विषयमा चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।