एजेन्सी । हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणका क्रममा सर्वसाधारण नागरिकसमेत मारिएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ। संस्थाले सुरक्षा कारबाहीका नाममा गरिएको व्यापक घातक ड्रोन प्रयोगले बालबालिकासहित निर्दोष नागरिकलाई गम्भीर जोखिममा पारेको चेतावनी दिएको हो।
ह्युमन राइट्स वाचले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मार्च १, २०२५ देखि जनवरी २१, २०२६ सम्म सञ्चालन गरिएका १४१ वटा ड्रोन अपरेसनका क्रममा कम्तीमा एक हजार २४३ जनाको मृत्यु भएको छ। ती मृतकमध्ये कम्तीमा ४३ जना आपराधिक गिरोहका सदस्य नभएका सर्वसाधारण रहेको पुष्टि भएको छ भने १७ जना बालबालिका पनि रहेका छन्।
उक्त आक्रमणहरूमा ७३८ जना घाइते भएका छन्। घाइतेमध्ये कम्तीमा ४९ जना आपराधिक समूहसँग सम्बन्धित नभएका सर्वसाधारण नागरिक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
हाइटीमा पछिल्ला वर्षहरूमा गिरोह हिंसा तीव्र रूपमा फैलिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार आपराधिक गिरोहहरूले राजधानी पोर्ट-अ-प्रिन्सको करिब ९० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन्। सन् २०२५ मा मात्रै गिरोह हिंसासम्बन्धी घटनामा झन्डै छ हजार जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक गरिएको छ। क्यारिबियन क्षेत्रमा पर्ने हाइटीलाई अमेरिकाको सबैभन्दा गरिब देशमध्ये एक मानिन्छ। यहाँ हत्या, बलात्कार र अपहरणजस्ता घटनासहितको घातक गिरोह हिंसा वर्षौंदेखि व्यापक रूपमा फैलिएको छ।
लगातारको हिंसाका कारण करिब १४ लाख मानिस अर्थात् कुल जनसङ्ख्याको करिब १० प्रतिशत विस्थापित भएका छन्। साथै हाइटीका झन्डै आधा नागरिक गम्भीर खाद्य असुरक्षाबाट प्रभावित भएको अनुमान गरिएको छ। यसमा पाँच वर्षमुनिका करिब १२ लाख बालबालिका पनि समावेश छन्।
ह्युमन राइट्स वाचका अमेरिकासम्बन्धी निर्देशक जुआनिता गोबर्टसका अनुसार यी आक्रमणहरूले निर्दोष मानिसहरूलाई ठूलो क्षति पुर्याइरहेका छन्। उनले ड्रोन अपरेसनका क्रममा धेरै बालबालिकासहित दर्जनौँ सर्वसाधारण मारिएका र घाइते भएका बताएका छन्।
उनले हाइटीका अधिकारीहरूलाई सुरक्षा बल तथा उनीहरूसँग काम गर्ने निजी ठेकेदारहरूको गतिविधिलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको हाइटीस्थित एकीकृत कार्यालयका अनुसार यी ड्रोन आक्रमणहरू प्रधानमन्त्री एलिक्स डिडियर फिल्स-एमेले गठन गरेको टास्क फोर्सद्वारा सञ्चालन गरिएको हो। उक्त टास्क फोर्सलाई निजी सैन्य कम्पनी भेक्टस ग्लोबलले परिचालन सहयोग उपलब्ध गराइरहेको बताइएको छ।