काठमाडौं । काठमाडौंमा वायु प्रदूषणको स्तर निकै खराब अवस्थामा पुगेको छ । सोमबार बिहान मापन गरिएको तथ्यांकअनुसार राजधानीको वायु गुणस्तर ‘निकै अस्वस्थ’ तहमा पुगेको हो।
रियल-टाइममा वायुको गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित संस्था आईक्यू एयरका अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ पुगेको छ । सामान्यतया एक्यूआई १५० भन्दा माथि पुगेमा अस्वस्थ मानिन्छ भने २०० भन्दा माथि पुगेपछि ‘निकै अस्वस्थ’ तह मानिन्छ।
नेपाल सरकारद्वारा स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ र २०१ देखि ३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि पुगेमा भने खतरनाक तहमा पुगेको संकेत गर्दछ।
हालको अवस्थाअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये तेस्रो स्थानमा रहेको छ । सूचीको पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाका रहेका छन् । ती दुवै शहरमा पनि वायु प्रदूषण निकै अस्वस्थ तहमा पुगेको बताइएको छ।
वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वायु प्रदूषणका कारण मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन्।
मन्त्रालयले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई बाहिर ननिस्कन, अत्यावश्यक परेमा मास्क प्रयोग गर्न तथा स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेको छ।