काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेध आदेश उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा मङ्गलबार रातिसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा मदिरा पसल सिल गरिएको छ। साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका-६, बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिइएको हो। त्यस्तै मायादेवी गाउँपालिका-५, गोनाहा चोकस्थित एक मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ नाम लेखिएका ११० बोतल मदिरा बरामद गरिएको छ।
यस्तै शुद्धोधन गाउँपालिका-७, भगलापुर र वडा नं. ३, सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निषेधित अवधिमा मदिराको कारोबार गरेको पाइएपछि सम्बन्धित पसलहरू सिल गरिएको हो।
प्रहरीले जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली परिचालन गरी अनुगमनलाई कडा बनाएको जनाएको छ। स्थानीय प्रशासनले निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरेको स्पष्ट पारेको छ।
निषेध आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै प्रहरीले निर्वाचन आचारसंहिताविपरीत गतिविधिमा संलग्न व्यक्तिहरूको निरन्तर निगरानी भइरहेको जनाएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सबै कदम सशक्त रूपमा अघि बढाइने प्रहरीले जानकारी दिएको छ।