काठमाडौँ । रङहरूको पर्व होली आज तराई-मधेशका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराई क्षेत्रमा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रभरि रङ, अबिर र उमङ्गले वातावरण रंगिएको हो।
कोशी प्रदेशका तराईका जिल्लादेखि मधेश प्रदेशका आठै जिल्ला, लुम्बिनी प्रदेशका तराई भूभाग तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसम्म आज सार्वजनिक बिदा दिइएको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बिहानैदेखि होली खेल्ने क्रम जारी छ।
मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। यहाँ परम्परागत बाजागाजा, नाचगान र सामूहिक जमघटसहित पर्वलाई सामाजिक एकताको उत्सवका रूपमा लिइन्छ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। पण्डित त्रिलोचन भुर्तेलका अनुसार होलीले अनेकतामा एकताको सन्देश दिँदै समाजमा सद्भाव र भाइचाराको भावना सुदृढ पार्दै आएको छ। “असत्यमाथि सत्यको, छलमाथि निष्कलंकताको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा होलीले सामाजिक समरसता कायम गर्दै आएको छ,” उनले बताए।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, होलिका र भगवान् कृष्णसँग जोडिँदै फागु, फगुवा, होली, होरी आदि नामले मनाउन थालिएको मान्यता छ। रसरङ्ग, खानपिन, नाचगान र आपसी सद्भाव आदानप्रदान गर्दै भेदभाव र मनोमालिन्य त्याग्ने पर्वका रूपमा होलीलाई लिने गरिन्छ।
यस अवसरमा सुरक्षा निकायले होली सभ्य र सुरक्षित रूपमा मनाउन आग्रह गरेका छन्। अपरिचित व्यक्तिसँग जबर्जस्ती रङ नदल्न, कसैको इच्छाविपरीत लोला नहान्न, छाला र आँखामा असर पर्ने रासायनिक रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको छ। कुनै आपराधिक गतिविधि देखिएमा तुरुन्त प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
तराई-मधेश आज रङ्गीन छ-जहाँ होलीले फेरि एकपटक समानता, सद्भाव र सहिष्णुताको सन्देश फैलाएको छ।