काठमाडौं । मध्यपूर्वमा बढ्दो सुरक्षा चुनौतीबीच अमेरिकाले आफ्ना नागरिकलाई तत्काल उक्त क्षेत्रका विभिन्न देशहरूबाट बाहिरिन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै उपलब्ध व्यावसायिक उडान वा अन्य सुरक्षित माध्यम प्रयोग गरी छिटोभन्दा छिटो सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको हो।
अमेरिकी विदेश मन्त्रालयका कन्सुलर मामिला प्रमुख सहायक सचिव मोरा नामदारले एक्स (ट्विटर) मा पोस्ट गर्दै बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स (यूएई) र यमनमा रहेका अमेरिकी नागरिकलाई तत्काल बाहिरिन आह्वान गरेका हुन्।
उनले व्यावसायिक माध्यमबाट बाहिरिने व्यवस्था मिलाउन सहयोग आवश्यक परेमा २४ सै घण्टा विदेश मन्त्रालयको आपतकालीन सम्पर्कमा सम्पर्क गर्न आग्रह गरेका छन्। साथै, नजिकैको अमेरिकी दूतावास वा कन्सुलर कार्यालयसँग सम्पर्क गरी पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिन पनि सुझाव दिएका छन्।
हालै इजरायल र अमेरिकासम्बद्ध सैन्य गतिविधिको जवाफस्वरूप इरानले मध्यपूर्वका विभिन्न स्थानमा, विशेष गरी अमेरिकी सम्पत्तिलक्षित आक्रमणहरू गरिरहेको बताइएको छ। यसअघि तीमध्ये केही देशहरूले अमेरिकी नागरिकलाई ‘सेल्टर इन प्लेस’ अर्थात् जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित बस्न निर्देशन दिएका थिए। तर पछिल्लो परिस्थितिले जोखिम बढेपछि अब बाहिरिन नै सिफारिस गरिएको हो।
विश्लेषकहरूका अनुसार क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएकाले आगामी दिनमा सुरक्षा अवस्था अझ जटिल बन्न सक्ने सम्भावना रहेको छ। यसबीच विभिन्न देशहरूले आफ्नो हवाई सुरक्षा सतर्कता बढाएका छन् भने कूटनीतिक प्रयासहरू पनि तीव्र पारिएका छन्।