काठमाडौं । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै काठमाडौंमा यही फागुन १८ गतेदेखि मतदानको दिन २१ गतेसम्म रात्रिकालीन व्यवसाय बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं ले जारी गरेको सूचनामार्फत उक्त अवधिभर राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने स्पष्ट पारेको हो।
कार्यालयका अनुसार शान्ति सुरक्षा कायम राख्दै मतदान प्रक्रिया निष्पक्ष, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले यो निर्णय गरिएको हो। सूचनामा भनिएको छ, “अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्ने र तत्पश्चात सम्पूर्ण व्यवसाय बन्द गर्नरगराउनुहुन सम्बन्धित सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”
प्रशासनले होटल, रेस्टुरेन्ट, बार, क्लब लगायत राति अबेरसम्म सञ्चालन हुने सबै प्रकारका व्यवसायमा उक्त निर्णय लागू हुने जनाएको छ। निर्वाचनको समयमा भीडभाड, सम्भावित झडप तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न रात्रिकालीन गतिविधिमा नियन्त्रण आवश्यक ठहर गरिएको प्रशासनको भनाइ छ।
यस अवधिमा सुरक्षा निकायले निगरानी कडा बनाउने जनाइएको छ। नियम उल्लंघन गरी तोकिएको समयपछि व्यवसाय सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था थप सुदृढ पारिएको छ। प्रशासनले सम्पूर्ण व्यवसायी, सरोकारवाला तथा सर्वसाधारणलाई निर्णयको पालना गरी निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।