काठमाडौं । यस वर्षको होली पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले खुला स्थानमा मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्न तथा मेला-महोत्सव आयोजना गर्न प्रतिबन्ध लगाएको छ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आसन्न निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। जारी सूचनामा खुला सडक तथा सार्वजनिक स्थानमा भीड जम्मा गर्ने, मेला-महोत्सव गर्ने, मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा मदिराजन्य पदार्थको बिक्री-वितरण र सेवन गर्ने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ।
प्रशासनले होली पर्वको नाममा निर्वाचन आचारसंहिताविपरीत गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाइएको जनाएको छ। निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला प्रयोग गर्न नपाइने स्मरण गराइएको छ।
विशेषगरी होली लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारको तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज तथा अन्य सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले स्पष्ट पारेको छ। त्यसैगरी, पर्वलाई मर्यादित र सुरक्षित बनाउन कसैको इच्छा विपरीत रङ, अबिर दल्ने वा लोला हान्ने कार्यसमेत निषेध गरिएको छ।
प्रशासनले सर्वसाधारणलाई शान्तिपूर्ण र सभ्य रूपमा होली मनाउन आग्रह गर्दै निर्णय उल्लंघन गर्नेविरुद्ध कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।