काठमाडौँ । आजदेखि चुनाव अवधिभर मादक पदार्थ (रक्सी) बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मिति फागुन २१ गतेभन्दा सात दिन अघिदेखि नै मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।
निर्वाचन सुरक्षा निर्देशिका, २०७८ को दफा ३ बमोजिम समितिले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा उत्पादन, ओसारपसार, बिक्री-वितरण तथा सार्वजनिक सेवनमा प्रतिबन्ध रहने जनाएको छ। निर्णयको उल्लंघन गर्ने व्यक्ति वा व्यवसायमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यसैगरी, समितिले फागुन १८ गते राति १२ बजेदेखि चुनावी प्रचार-प्रसारमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। उक्त अवधिपछि कुनै पनि प्रकारका सभा, जुलुस, घरदैलो, सामाजिक सञ्जालमार्फत प्रचार वा अन्य चुनावी गतिविधि गर्न नपाइने जनाइएको छ। आचारसंहिता उल्लंघन गरेमा सम्बन्धित उम्मेदवार वा दललाई कारबाही गरिनेछ।
मतदानको दिन फागुन २१ गते अत्यावश्यक सेवाका सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने निर्णय पनि गरिएको छ। अत्यावश्यकबाहेकका सवारी साधन मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइनेछ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा सतर्कता बढाइएको समितिले जनाएको छ।