काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले ललितपुरमा आयोजित एक समारोहबीच समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणालीको औपचारिक शुभारम्भ गरेकी छन्।
समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले प्रविधिमैत्री प्रणालीले सेवाग्राहीलाई छिटो, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिन्। उनले डिजिटल प्रणालीमार्फत प्रशासनिक प्रक्रिया सरल र प्रभावकारी बन्ने उल्लेख गर्दै यसले सुशासन प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राखिन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सेवा विकास सहायताको महत्वपूर्ण आधारस्तम्भ भएको बताउँदै समाजका सबै वर्गलाई विकासको मूलधारमा समेट्नु राज्य र नागरिक संस्थाको साझा दायित्व भएको स्पष्ट पारिन्। साथै, गैरसरकारी संघ-संस्थाले स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण, गरिबी निवारण तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताइन्।
नयाँ डिजिटल प्रणालीमार्फत गैरसरकारी संस्थाहरूको कार्यसम्पादन, दर्ता, नवीकरण र विकास सहायतासम्बन्धी एकीकृत तथ्यांक व्यवस्थापन गरिने जनाइएको छ। यसले अनुगमन तथा मूल्यांकन प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा परिषद्का पदाधिकारीहरूले संस्थालाई नियमन, सहजीकरण र मूल्यांकनका कार्यमा थप सक्षम बनाउन आवश्यक पूर्वाधार र स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।
डिजिटल सेवा प्रणाली कार्यान्वयनसँगै परिषद्को सेवा प्रवाह प्रणाली आधुनिक र पारदर्शी बन्ने विश्वास गरिएको छ।