काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि अपिल गरिएको आर्थिक सहयोगबाट १ करोड ४५ लाख रुपैयाँ संकलन भएको जानकारी दिएकी छन्। पर्याप्त रकम जुटिसकेको भन्दै उनले आजैबाट आफ्नो बैंक खातामा थप सहयोग नगर्न अनुरोध गरेकी छन्।
खुट्टामा लागेको गम्भीर चोटको उपचारका लागि सहयोग अपिल गरेकी साम्बालाई पछिल्लो २४ घण्टामै करिब डेढ करोड रुपैयाँ सहयोग जुटेको हो। उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (करिब ५२ हजार न्युजिल्यान्ड डलर) संकलन भएको छ।
साम्बाले सामाजिक सञ्जालमार्फत सबै सहयोगीप्रति आभार व्यक्त गर्दै लेखेकी छन्, “आर्थिक रूपमा यहाँहरूले मेरो उपचार खर्च जुटाइदिनुभयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ। यही उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु।” उनले खेलाडीका रूपमा आफ्नो सबैभन्दा ठूलो कमाइ पैसा वा उपाधि नभई जनताको माया, भरोसा र समर्थन रहेको बताएकी छन्। “यो नै मेरो वास्तविक कमाइ हो,” उनले उल्लेख गरेकी छन्।
साथै, आफूलाई प्रायोजन गर्ने संस्था तथा विभिन्न संघ-संस्थाबाट समेत नगद र अन्य सुविधा सहयोगको वाचा प्राप्त भएको जानकारी दिँदै उनले कतारमा हुने उपचारका क्रममा आवास र यातायात खर्चसमेत धान्न पर्याप्त रकम जुटेको बताएकी छन्। कतारमा बसोबास गर्ने विभिन्न व्यक्ति र संस्थाबाट पनि सहयोगको आश्वासन प्राप्त भएको उनको भनाइ छ।
साम्बा आबद्ध क्लब Wellington Phoenix FC ले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गर्दै उपचार प्रक्रियामा सहजीकरण गरिरहेको उनले जनाएकी छन्। छिट्टै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्ने विश्वास उनले व्यक्त गरेकी छन्। “यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ,” उनले लेखेकी छन्।
दृढ संकल्प व्यक्त गर्दै उनले थपिन्, “म फर्कनेछु -अझ मजबुत भएर फर्कनेछु। पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु। देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ।”