काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा कर्मचारी खटनपटनलाई लिएर रुकुमपूर्वमा विवाद चर्किएको छ। स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको भन्दै एक मतदान अधिकृतले जिम्मेवारी त्यागेका छन्।
रुकुमपूर्व जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्व लाई लिखित पत्र बुझाउँदै पुथा उत्तरगंगा गाउँपालिका का सहायक शिक्षा अधिकृत रामप्रसाद खड्काले आफूलाई तोकिएको मतदान अधिकृतको जिम्मेवारी सम्हाल्न अस्वीकार गरेका हुन्। खड्कालाई भूमे गाउँपालिका-९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुन्वाङ मा मतदान अधिकृतका रूपमा खटाइएको थियो। तर, शिक्षकहरूलाई उपेक्षा गरी स्वास्थ्यकर्मीलाई निर्वाचन कार्यमा प्राथमिकता दिइएको भन्दै उनले पद त्याग गरेको घोषणा गरेका छन्।
आफ्नो पत्रमा उनले शिक्षकहरूको पेसागत गरिमा र मर्यादामा आँच पुग्ने गरी विभेदकारी नीति अवलम्बन गरिएको आरोप लगाएका छन्। “समाजलाई चेतना र शिक्षाको उज्यालो दिने शिक्षकहरूलाई पूर्ण रूपमा पाखा लगाइएको छ। राज्यले उनीहरूको मान-मर्यादाप्रति उचित सम्मान नगरेको अनुभूति भएपछि मतदान अधिकृत भएर काम गर्न नैतिक आधार रहेन,” उनले उल्लेख गरेका छन्।
स्वास्थ्यकर्मी खटाइएकोमा चौतर्फी विरोध
जिल्ला निर्वाचन कार्यालयले यसपटक ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई निर्वाचन कार्यमा परिचालन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो। यसअघि नै नेपाल शिक्षक महासंघ र नेपाल पत्रकार महासंघ रुकुमपूर्व शाखाले स्वास्थ्यकर्मीलाई नियमित स्वास्थ्य सेवामै केन्द्रित गर्नुपर्ने माग गर्दै आएका थिए।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले समेत निर्वाचन अवधिभर स्वास्थ्यकर्मीलाई २४ सै घण्टा सतर्क अवस्थामा रहन निर्देशन दिँदै उनीहरूलाई निर्वाचन कार्यमा नखटाउन आग्रह गरेको थियो। तर, जिल्लामा अन्य क्षेत्रका कर्मचारी उपलब्ध हुँदाहुँदै स्वास्थ्यकर्मीलाई नै प्राथमिकता दिइएपछि असन्तुष्टि बढेको हो।
अन्योलमा निर्वाचन व्यवस्थापन
निर्वाचनको मुखैमा जिम्मेवार कर्मचारीले नै जिम्मेवारी अस्वीकार गरेपछि जिल्ला निर्वाचन कार्यालय दबाबमा परेको छ। एकातिर स्वास्थ्य मन्त्रालयको निर्देशन र अर्कोतिर शिक्षकहरूको असन्तुष्टिका कारण निर्वाचन व्यवस्थापन प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।
खड्काको कदमपछि अन्य शिक्षक तथा शिक्षा क्षेत्रका कर्मचारीले पनि विरोधका स्वर चर्काउन थालेका छन्। अब रिक्त स्थानमा कर्मचारी व्यवस्थापन कसरी गरिन्छ र विवाद कसरी समाधान हुन्छ भन्ने विषय जिल्लाभर चासोको केन्द्र बनेको छ।