काठमाडौं । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताहरूले बुझाएको १ खर्ब २ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भएको छ । हिजो फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको हो ।
२०७५ सालको मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो । कोषले २०७६ साल साउन १ गतेदेखि योगदानकर्ताहरूबाट रकम सङ्कलन गर्न थालेको हो ।
सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा हुने गरेको छ । यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ । प्रत्येक महिनाको योगदान अर्को महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्छ ।
सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषको रकमलाई सुरक्षित राखिएको बताए । उनकाअनुसार कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युअल फन्ड, डिबेन्चर आदिमा लगानीसमेत गरेको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ ।
सामाजिक सुरक्षा कोषमा श्रमिक वा योगदानकर्ताको विभिन्न क्षेत्र छुट्याइएको छ । यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार वटा क्षेत्र छुट्याइका छन् । यो कोषमा आबद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर चार वटा योजनाबाट लाभ लिन सक्छन् ।
अहिले कोषमा आबद्ध भएका योगदानकर्ताहरूको सङ्ख्या २८ लाख २२ हजार ३ सय ३३ पुगेको छ । सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ८४ पुगेका छन् ।
कुल योगदानकर्ताहरूमध्ये औपचारिक क्षेत्रका श्रमिकहरू झन्डै ६ लाख ७९ हजार पुगेका छन् भने झन्डै २२ लाख जना वैदेशिक रोजगारीमा गएकाहरू रहेका छन् ।
अनौपचारिक क्षेत्रका अनि स्वरोजगारमा रहेकाहरूको हिस्सा थोरै रहेको देखिन्छ । ८ सय ५४ जनामात्रै त्यस्ता श्रमिक सामाजिक सुरक्षा कोषमा सहभागी भएका छन् भने ८ सय ८ जना स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध छन् ।