काठमाडौँ । प्रहरी प्रधान कार्यालयले फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे रणनीति तय गर्न विश्लेषण महाशाखा बनाएको छ । चुनाव बिथोल्ने भूमिका खेल्ने समूहको निगरानी र उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति बनाउन विश्लेषण महाशाखा गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
कार्य विभागको मातहत गठन गरिएको विश्लेषण महाशाखाको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दयानिधि ज्ञवालीले गरेका छन् । महाशाखाले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्ने छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ । प्रसाईं अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।
धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र पहिचानको आन्दोलनमा सक्रिय समूहले निर्वाचन विरोधी गतिविधि गरिरहेको प्रहरीको विश्लेषण छ । बहुमतका महासचिव धर्मेन्द्र बास्तोला, सो संगठनको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना र वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य नरेन्द्र बहादुर विकलाई चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।
निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा विभिन्न समूहका ८ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
प्रहरीले चुनाव विरोधीहरूले प्रयोग गर्ने आशङ्कामा रोहिङ्ग्या शरणार्थीको गतिविधि पनि निगरानी गरिरहेको छ । म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि कपन स्थित लसुनटारमा क्याम्प बनाएर बसिरहेका छन् ।
बुढानीलकण्ठ, कालिमाटी र बालाजुमा पनि रोहिङ्ग्या अस्थायी टहरा बनाएर बसिरहेका छन् । कतिपय रोहिंग्या कालिमाटी लगायतका ठाउँमा डेरा लिएर पनि बसेका छन् । नेपालमा ४ सय १९ जना रोहिङ्ग्या शरणार्थी छन् ।
प्रहरी हेडक्वार्टरले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेर केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना लागु गरेको छ । प्रहरीको केन्द्रीय निर्वाचन सेलको प्रमुख तोकिएका चतुर्वेदी प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागको प्रमुख हुन् । निर्वाचन सेलमा १५१ जना सदस्य छन् । निर्वाचनमा चारवटा सुरक्षा निकायका ३ लाख १५ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने गरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।