फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका बालेनको बाचापत्रमा लेखिएको छ, ‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।’
करोडौं लगानी गरेर बनाइएको भ्युटावर लामो समय सञ्चालनमा नआउँदा यो ओलीको आलोचनाको विषय बन्ने गरेको छ ।
बालेनले सोमबार सार्वजनिक गरेको बाचापत्रमा संविधानको परिपालना गर्दै संविधानले निर्दिष्ट गरेका दायित्वहरू निष्ठापूर्वक सम्पन्न गर्न तथा हाल कार्यान्वयनमा रहेका कार्यहरुलाई कानुनी रूपमा सहज, स्पष्ट साथै नागरिक मैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि संघीय संसदमा सक्रिय तथा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पहिलो प्रतिबद्धता जनाएका छन् ।
संघीय सांसदको हैसियतले बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिने बाचा गरेका छन् । सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने उनको प्रतिबद्धता छ ।
नेपाल सरकार र जेनजी बीच भएका सम्झौताहरूको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्ने उनको अर्को प्रतिबद्धता छ ।
स्थानीय सरकार र प्रदेश सरकारका योजना अगाडि बढाउने पनि उनको योजना छ ।
नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यवहारिक रुपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने पनि उनको प्रतिवद्धता छ ।
स्थानीय तह र प्रदेश सरकारको अधिकारकाा लागि काम गर्ने अर्को प्रतिबद्धता छ । ‘स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय तथा सहकार्यमा निम्न कार्यहरु पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ बाचापत्रमा लेखिएको छ ।
शिक्षामा काम गर्ने उनको प्रतिबद्धता छ । ‘गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिनेछ,’ बालेनको बाचापत्रमा लेखिएको छ, ‘काठमाडौं महानगरमा लागू भएजस्तै शिक्षामा सीप कार्यक्रम कार्यान्वयन गरी विद्यार्थीहरुको विदेश जान पर्ने बाध्यतालाई न्यूनीकरण गरिनेछ ।’
झापामा समेत शिक्षाको क्षेत्रमा काम गर्ने उनले बताएका छन् । ‘गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन अनुसन्धान केन्द्रका रुपमा सञ्चालन गरिनेछ, कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गरी प्रादेशिक आयुर्वेद अस्पताल, कमल (लखनपुर) लाई सो मातहत संचालन गरिनेछ,’ उनले भनेका छन् ।
दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता छ ।
सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला (ल्याब) र पुस्तकालय स्थापना तथा उच्च शिक्षाको स्तरोन्नति गर्ने बताएका छन् । विद्यालय छाड्ने दर शून्यमा झार्ने उनको संकल्प छ । फरक क्षमता भएका बालबालिकाकालागि शैक्षिक कार्यक्रम कार्यन्वयन गर्न आवश्यक नीतिगत सुधार गर्ने नीति लिने बाचा गरेका छन् ।
यसबाहेक पनि झापा केन्द्रित बालेनका प्रतिवद्धताहरू छन् । जसमा दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याउने लगायत रहेका छन् ।
१. विराट बुद्ध पार्कको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याइनेछ
२. दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरी सञ्चालनमा ल्याइनेछ ।
३. रतुवा खोला, मावा खोला, तथा सहायक सोला, सहरेको तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गरिनेछ ।
४. दमकलाई पूर्वी नेपालको “आइ. टी. हव’ को रूपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गरिनेछ ।
५. कन्काई–रतुवा सिँचाइ योजना विस्तार तथा लिफ्ट सिँचाइ प्रविधि प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाइनेछ ।
६. प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागु गरिनेछ ।
७. कोल्ड स्टोर तथा ड्रायर एकै स्थानमा रहने गरि “गौरादह कृषि भण्डारण केन्द्र“ को स्थापना गरिनेछ ।
८. गौरादह कृषि क्याम्पसलाई कृषि अनुसन्धान हवका रुपमा विकास गरिनेछ ।
९. गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइनेछ ।
१०. दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गरिनेछ ।
११. दमक गोल्डकपलाई व्यवसायिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी झापा–५ को अर्थतन्त्र, पर्यटन र खेलकुद क्षेत्रको समग्र विकासमा योगदान पुन्याइनेछ ।