काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति कडा आपत्ति जनाउँदै चेतावनी दिएको छ कि पार्टीको धैर्यलाई कमजोरीका रूपमा नलिइयोस्।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले शुक्रबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपाच्य शब्द प्रयोग गरी नाराबाजी गरिएको तथा महासचिव शङ्कर पोखरेल को गृहनगरमै झण्डा जलाइएको घटनालाई ‘राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य’ भनेर टिप्पणी गरिएको छ।
विज्ञप्तिमा दलीय प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष भए पनि स्थापित राष्ट्रिय शक्तिको आस्थामाथि चोट पुर्याउने काम लोकतन्त्रको परिधिभित्र नपर्ने उल्लेख गरिएको छ। एमालेले रास्वपाले भन्ने गरेको ‘नयाँको मानक’ यस्ता गतिविधिबाट स्थापित नहुने तर्क गर्दै यसलाई मुलुकलाई अस्थिरताको चक्रव्यूहमा धकेल्ने प्रयासका रूपमा व्याख्या गरेको छ।
एमालेले आफू अनुशासित पार्टी भएकाले उत्तेजित नभएको स्पष्ट पार्दै ‘संयमता र धैर्य कमजोरी नभएको’ चेतावनी दिएको छ। झण्डा जलाउने कार्य निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको दाबी गर्दै संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ।
यसैबीच, एमालेले निर्वाचन आयोग सँग सम्बन्धित दललाई तत्काल स्पष्टीकरण लिन र जवाफ सार्वजनिक गर्न माग गरेको छ। साथै, यदि संलग्नमाथि कारबाही नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार, निर्वाचन आयोग र रास्वपाले वहन गर्नुपर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ।
घटनापछि दाङको राजनीतिक वातावरण थप तातिएको छ भने सम्बन्धित निकायबाट थप प्रतिक्रिया आउन बाँकी छ।