काठमाडौं । रामचन्द्र पौडेल ले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
शुभकामना सन्देशमा उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान पुर्याउने सम्पूर्ण व्यक्तित्वप्रति सम्मान प्रकट गरेका छन्। प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतान्त्रिक मूल्य-मान्यताप्रति सबैलाई प्रतिबद्ध रहन आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले अपेक्षा गरेको सुशासन तथा तीव्र विकासको मार्ग प्रशस्त गर्न यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन उनले नागरिकहरूलाई अपिल गरेका छन्।
वि।सं. २००७ सालको ऐतिहासिक क्रान्तिको स्मरण गर्दै उनले निरङ्कुशताविरुद्धको सङ्घर्षबाट प्राप्त मानवअधिकार र नागरिक स्वतन्त्रता नेपाली जनताको गौरवपूर्ण उपलब्धि भएको बताएका छन्। लामो बलिदान र सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान निर्माणमा २००७ सालको क्रान्तिले महत्त्वपूर्ण आधार तयार गरेको उनले उल्लेख गरेका छन्।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो,’ सन्देशमा उल्लेख छ, ‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव र समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनेछ।’
संविधानले अङ्गीकार गरेको समाजवादउन्मुख अर्थतन्त्र र न्यायमा आधारित शासन प्रणालीमार्फत मुलुकलाई समृद्धितर्फ अघि बढाउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्। सुशासन नै विकास र समृद्धिको मूल आधार भएको उल्लेख गर्दै राष्ट्रपतिले साझा प्रयासबाट राष्ट्रिय लक्ष्य हासिल गर्न आह्वान गरेका छन्।