काठमाडौं । पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड र सडक सीमा मिचेर निर्माण गरिएका अवैध संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ। वडा नं.१८ को खपौँदी र रातोडाँडा क्षेत्रमा बिना अनुमति निर्माण गरिएका रेस्टुरेन्ट तथा क्याफेलाई महानगरले पत्राचार गर्दै तोकिएको समयभित्र संरचना आफैं हटाउन निर्देशन दिएको हो।
महानगरले बुधबार खपौँदीस्थित लेजी बी रेस्टुरेन्ट, क्यालिफोर्निया गार्डेन र रातोडाँडास्थित कफी सपलाई छुट्टाछुट्टै पत्र काट्दै ‘ताल घर’ क्षेत्रभित्र र सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउन भनेको छ। फेवातालको सीमाङ्कन ९ताल घर० भइसकेपछि निर्माण गरिएका संरचना तत्काल हटाइने महानगरले जनाएको छ। सीमाङ्कनअघि बनेका संरचनाका हकमा भने कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
महानगरका अनुसार लेजी बी रेस्टुरेन्ट र क्यालिफोर्निया गार्डेनले तालघर क्षेत्रभित्र पर्ने गरी अवैध निर्माण गरेका छन्। यसअघि मौखिक जानकारी दिँदा र निर्माण सामग्री नियन्त्रणमा लिँदा समेत अटेर गर्दै काम अघि बढाइएको दाबी महानगरको छ। यस्तै, रातोडाँडास्थित कफी सपले सडक मापदण्डभित्र र दुर्घटना जोखिम बढ्ने गरी संरचना निर्माण गरेको पाइएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यद्वारा हस्ताक्षरित पत्रमा १५ दिनभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार महानगरले आफैं भत्काउने चेतावनी दिइएको छ। भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने पनि स्पष्ट पारिएको छ। यसअघि सोमबार महानगरले वडा नं. १८ कै सेदी र रातोमाटो डाँडामा अनुमति बिना निर्माण भइरहेका दुई संरचना भत्काइसकेको छ।
सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको सीमाङ्कनका लागि पोल गाडिसकेको महानगरले अब ताल क्षेत्रभित्र बनेका सबै अवैध संरचना हटाउने अभियानलाई तीव्र बनाउने जनाएको छ। महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार चाँडै तालघर क्षेत्रका सम्पूर्ण संरचना हटाउन सार्वजनिक सूचना जारी गरिनेछ। “आफैं नहटाए महानगरले हटाउँछ र लागेको खर्च पनि सम्बन्धितबाटै असुल गरिनेछ,” उहाँले बताउनुभयो।