काठमाडौं । बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा ११ दिन जेल बस्न बाध्य भएका छन्। दिल्ली उच्च अदालतले सोमबार उनलाई सर्तसहित १८ मार्चसम्मका लागि अन्तरिम जमानत दिएको छ। डेढ करोड भारतीय रुपैयाँ धरौटी र पासपोर्ट बुझाएपछि उनी रिहा भएका हुन्। मुद्दाको अर्को सुनुवाइ १८ मार्चमा तोकिएको छ।
फिल्मसँग जोडिएको विवाद
यो प्रकरण सन् २०१० मा निर्माण भएको फिल्म "अता पता लापता" सँग सम्बन्धित छ। उक्त फिल्मका लागि यादवले ‘मुरली प्रोजेक्ट्स’ नामक कम्पनीबाट करिब ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए। फिल्मको निर्देशन स्वयं यादवले गरेका थिए भने मुख्य भूमिकामा पनि उनी नै देखिएका थिए। उनकी पत्नी राधा यादवले ‘श्री नौरंग गोदावरी इन्टरटेनमेन्ट’ ब्यानरमा फिल्म निर्माण गरेकी थिइन्।
करिब ११ करोडको लागतमा बनेको फिल्मले बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेन। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले ५० लाख रुपैयाँसमेत कमाउन सकेन। फिल्म असफल भएपछि यादव आर्थिक संकटमा फसे र ऋण चुक्ता गर्न नसकेपछि विवाद अदालतसम्म पुगेको हो।
अदालतको फैसला र आत्मसमर्पण
भुक्तानीका लागि दिएको चेक बाउन्स भएपछि कम्पनीले अदालतमा मुद्दा दायर गरेको थियो। सन् २०१८ मा दिल्लीको तल्लो अदालतले यादवलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो। पछि मुद्दा दिल्ली उच्च अदालत पुगेको थियो, जहाँ ऋण तिर्ने प्रतिबद्धतापछि सजाय कार्यान्वयनमा रोक लगाइएको थियो।
तर पटक-पटक प्रतिबद्धता उल्लंघन भएको भन्दै अदालतले फेब्रुअरी ४ मा आत्मसमर्पण गर्न आदेश दिएको थियो। त्यसपछि उनले फेब्रुअरी ५ मा तिहार जेल पुगेर आत्मसमर्पण गरेका थिए। भारतीय मिडियाका अनुसार उनले मुरली प्रोजेक्ट्सलाई करिब ९ करोड रुपैयाँ तिर्न बाँकी छ।
बलिउडबाट सहयोगको आश्वासन
उनको कठिन अवस्थामा बलिउडका केही कलाकारहरूले आर्थिक सहयोगको आश्वासन दिएका छन्। सलमान खान,अजय देवगन,वरुण धवन,सोनु सूद र नवाजुद्दीन सिद्दीकी लगायतले साथ दिने संकेत गरेका छन्। निर्देशक प्रियदर्शनले आगामी फिल्ममा उनको पारिश्रमिक बढाउने घोषणा गरेका छन्।
अब १८ मार्चको सुनुवाइले यादवको कानुनी यात्रा कुन मोड लिन्छ भन्ने चासो बलिउड वृत्तमा बढेको छ।