काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेशस्तरीय सभामा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको मधेश प्रदेश समितिले सभाको तयारीबारे जानकारी दिँदै व्यापक जनसहभागिता सुनिश्चित गरिने जनाएको हो।
प्रदेश सभापति कृष्णकुमार यादवले पार्टीका सभापति गगन थापाले सम्बोधन गर्ने उक्त सभामा मधेश प्रदेशका ८ वटै जिल्लाबाट उल्लेख्य सहभागिता गराइने बताए।
‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौं,’ यादवले भने, ‘यो सभा मधेशमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ।’
कांग्रेसले बुधबार जनकपुरधामस्थित तिरुहुतिया गाछीमा एक विशेष समारोहबीच प्रतीज्ञापत्र सार्वजनिक गर्ने जनाएको छ। उक्त प्रतीज्ञापत्रमा मधेशको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सुधार, पूर्वाधार विस्तार र सुशासनलाई प्राथमिकतामा राखिने यादवले बताए। उनका अनुसार, प्रदेशमा पार्टीभित्र कुनै बागी उम्मेदवार नरहेको र संगठन एकताबद्ध तथा सुदृढ अवस्थामा रहेको छ। ‘हामी एकढिक्का भएर चुनावमा होमिएका छौं। पार्टीभित्र असन्तुष्टि वा बागी उम्मेदवारीको अवस्था छैन,’ उनले दाबी गरे।
नेपाली कांग्रेसले मधेश प्रदेशमा आफ्नो जनाधार थप सुदृढ बनाउँदै आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्य राखेको पनि नेताहरूले बताएका छन्।