काठमाडौं । चन्द्रपुर नगरपालिका-२ जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा लागेको भीषण आगो करिब ३० घण्टापछि नियन्त्रणमा आएको छ। बिहीबार दिउँसो सुरु भएको आगलागी शुक्रबार साँझ संयुक्त सुरक्षा निकायको प्रयासपछि नियन्त्रणमा लिइएको हो।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वनकर्मी तथा स्थानीय सुरक्षाकर्मीहरू खटिएका थिए। गौरस्थित नारायणदल गणबाट दमकलसहित सेनाको टोली परिचालन गरिएको थियो। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त कुमार साहका अनुसार संयुक्त टोलीको निरन्तर प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको हो। प्रारम्भिक अनुमानअनुसार आगलागीमा २७ स्थानमा घाटगद्दी गरी राखिएको करिब ८ देखि १० हजार क्युफिटभन्दा बढी सालको गोलिया काठ जलेको छ।
उक्त काठ २०७६ सालमा ४ सय केभी प्रसारण लाइन विस्तारका क्रममा काटिएको र पछि सोही वनक्षेत्रमा संकलन गरी राखिएको थियो। लामो समयदेखि लेखापरीक्षण तथा साधारणसभा नहुँदा काठ बिक्री प्रक्रिया अघि बढ्न नसकेको र सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको डिभिजन प्रमुख साहले जानकारी दिए।
प्रदेशका वन मन्त्री शंकर चौधरी, वन निर्देशक जगरनाथ प्रसाद जैसवाल, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, प्रहरी प्रमुख (एसपी) सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीलगायत सुरक्षा अधिकारीहरू घटनास्थल पुगेर निरीक्षण गरेका थिए।
आगलागी नियतवश गराइएको हुन सक्ने आशंका गरिएको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गौरबाट ल्याइएको दमकल हाल वन कार्यालयमै राखिएको छ र आवश्यक परे पुनः निरीक्षण गरी पानी हाल्ने तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ।