काठमाडौं । काठमाडौंको मण्डिखाटारस्थित व्यापारी सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट भएको घटनामा ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ। सिरोहियाको जाहेरी र प्रहरी प्रतिवेदन अनुसार उक्त घटनाबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रतिवादीहरू सुजन डंगोल, विवेक थापा, गोपाल थापा, रोजिस घिमिरे र प्रज्ज्वल रोगु लाई ‘अपराधिक उपद्रव तथा चोरी’ सम्बन्धी कसुरमा कारबाहीको माग गरेको छ। घटनामा पाँच प्रतिवादीको आपराधिक उपद्रव र चोरीको आरोप छ।
घटना गत भदौ २४ गते ‘जेन्जी आन्दोलन’ को बहानामा भएको थियो। दिउँसो करिब १ बजेदेखि राति १० बजेसम्म आन्दोलनकारीको एक समूहले सिरोहियाको घरमा प्रवेश गरी कम्पाउण्डभित्र पार्क गरिएका विलासी सवारीसाधनमा आगो लगाएको थियो। आगजनीमा चार वटा लक्जरी कार पूर्ण रूपमा जलेर नष्ट भएका थिए।
लुटपाटमा घरबाट ३५ तोला सुन, २० थान चाँदीका गहना, ३१ केजी चाँदीका सिक्का र बहुमूल्य फर्निचर, ल्यापटप, क्यामरा लगायतका घरायसी सामान चोरी भएको थियो। प्रहरीले अभियुक्तहरूको कोठा खानतलासी गर्दा अधिकांश चाँदीका सिक्का र अन्य मूल्यवान सामान बरामद गरेको छ।
सरकारी वकिल कार्यालयले प्रतिवादीहरूलाई दफा २८५ (आपराधिक उपद्रव) अन्तर्गत ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना, तथा दफा २४२ (चोरी) अन्तर्गत ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना माग गरेको छ। चोरीको सामान किन्नेरराख्ने रोजिस घिमिरेलाई समेत दफा २४६ (क) अनुसार दण्ड माग गरिएको छ।