काठमाण्डौ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरका ७५३ पालिकामध्ये पहिलो भएको छ। पाणिनिले ८३.८४ अङ्क प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।
दोस्रो स्थानमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अङ्कसहित रहेको छ। गुल्मीको मालिका गाउँपालिका ८०.९८ अङ्कसहित तेस्रो तथा गुल्मीकै धुर्कोट गाउँपालिका ८०.५२ अङ्कसहित चौथो स्थानमा रहेका छन्। यस वर्ष ८० भन्दा माथि अङ्क ल्याउने पालिका चारवटा मात्रै रहेका छन्। कार्यसम्पादनमा सबैभन्दा कमजोर रौतहटको देवाही गोनाही नगरपालिका देखिएको छ। देवाहीले ३०.९१ अङ्क मात्र प्राप्त गरेको छ। आयोगको विवरणअनुसार मधेश प्रदेशका धेरैजसो पालिका अपेक्षाकृत कमजोर देखिएका छन्।
देशका ६ महानगरपालिकामध्ये विराटनगर महानगरपालिका ७८.११ अङ्कसहित सबैभन्दा सशक्त देखिएको छ भने सङ्घीय राजधानी रहेको काठमाण्डौ महानगरपालिका ४४.९७ अङ्कसहित सबैभन्दा कमजोर रहेको छ। ललितपुर महानगरपालिका ७६.३३ अङ्कसहित दोस्रो, भरतपुर ६८.०४ अङ्कसहित तेस्रो, पोखरा ५८.०४ अङ्कसहित चौथो तथा वीरगञ्ज ५४ अङ्कसहित पाँचौँ स्थानमा रहेका छन्।
आयोगले बजेट तर्जुमा तथा कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षण, शिक्षा, स्वास्थ्य, सुशासनलगायत १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। स्थानीय तहको पारदर्शिता, वित्तीय अनुशासन र सेवा प्रवाहको अवस्थालाई सूचकमार्फत मूल्याङ्कन गरिएको आयोगको भनाइ छ।
यस नतिजाले स्थानीय तहबीच प्रतिस्पर्धात्मक कार्यसम्पादनलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।