काठमाडौं । आपराधिक लाभ (एक्स्टर्सन) र आपराधिक षड्यन्त्रसम्बन्धी मुद्दामा फरार रहेका काभ्रे ठेगाना भएका प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
इन्टरपोल महासचिवालयबाट जारी गरिएको डिफ्युजन नोटिसका आधारमा एनसिबी मनिला, फिलिपिन्सको समन्वयमा उनलाई पक्राउ गरिएको हो। बुधबार उनलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ।
पाठकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना ‘भीआईपी’ व्यक्तिलाई धम्क्याएको आरोप छ। काठमाडौं जिल्ला अदालतबाट आपराधिक लाभ लिन नहुने तथा आपराधिक षड्यन्त्र गर्न नहुने कसुरमा पक्राउ अनुमति जारी भएपछि उनी फरार रहेका थिए। अन्तर्राष्ट्रिय स्तरमा खोजतलासका लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८२ मंसिर १७ गते पाठकविरुद्ध डिफ्युजन जारी गरेको थियो। पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार, अपराधमा संलग्न भई संसारको जुनसुकै कुनामा लुकेर बसे पनि कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रतिबद्ध छ। उनले इन्टरपोलसँगको सहकार्यमा फरार अभियुक्तहरूको खोजी र पक्राउ प्रक्रिया निरन्तर जारी रहेको बताए।
नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ जनाविरुद्ध रेड नोटिस र ३ जनाविरुद्ध डिफ्युजन जारी गरिएको छ। जसमध्ये रेड नोटिस जारी भएका ८ जना र डिफ्युजन जारी भएका २ जनालाई विभिन्न देशबाट पक्राउ गरी नेपाल ल्याइएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा ३४ जनाविरुद्ध रेड नोटिस र २ जनाविरुद्ध डिफ्युजन जारी भएकोमा २० जनाभन्दा बढीलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याइएको थियो।
प्रकाश पाठक प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन इन्टरपोल समन्वय कति प्रभावकारी छ भन्ने पुनः देखाएको छ। अब उनीविरुद्धको अनुसन्धान र अभियोजन प्रक्रिया काठमाडौंमै अघि बढाइनेछ।