काठमाडौँ । उत्तर कोरियामा दक्षिण कोरियाली टेलिभिजन नाटक तथा गीत सुनेको वा हेरेको आरोपमा स्कुले बालबालिकासहित नागरिकलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको डरलाग्दो खुलासा भएको छ। ‘स्क्विड गेम’, ‘क्र्यास ल्यान्डिङ अन यु’ र ‘डिसेन्डेन्ट्स अफ द सन’ जस्ता चर्चित नाटक हेरेको आरोपमा यस्तो सजाय दिइएको बताइएको छ। बीटीएसजस्ता के-पप ब्यान्डका गीत सुन्नेलाई पनि यही सजाय लागू गरिएको जनाइएको छ।
एमनेस्टी इन्टरनेशनलले उत्तर कोरियाबाट भागेका २५ जना व्यक्तिसँग गरेको अन्तर्वार्ताका आधारमा यो तथ्य सार्वजनिक गरेको हो। स्काइ न्युजका अनुसार याङगाङ प्रान्तमा स्क्विड गेम हेरेको आरोपमा हाइस्कुलका विद्यार्थीहरूलाई समेत सार्वजनिक रूपमा गोली हानी मृत्युदण्ड दिइएको थियो। एमनेस्टीले विभिन्न प्रान्तबाट आएका विवरणहरूले यस्ता सामग्रीसँग सम्बन्धित धेरै मृत्युदण्ड भएको संकेत गर्ने जनाएको छ।
रिपोर्ट अनुसार सजायको कठोरता गरिब र धनीबीच फरक-फरक देखिन्छ। गरिब नागरिकहरूले सबैभन्दा कडा सजाय भोग्नुपर्ने अवस्था छ भने धनीहरू घुस दिएर सजायबाट जोगिन सक्ने बताइएको छ। भागेका नागरिक चोई सुविनका अनुसार एउटै अपराधका लागि पक्राउ परे पनि सजाय पैसामा निर्भर हुन्छ। पैसा नभएकाहरूले पुनर्शिक्षा शिविरबाट बाहिर निस्कन पाँचदेखि १० हजार डलरसम्म जुटाउन घरसमेत बेच्नुपर्ने अवस्था आउँछ।
किम जुनसिक तीन पटक पक्राउ परे पनि पारिवारिक सम्बन्धका कारण सजायबाट जोगिएको बताउँछन्। उनका अनुसार सामान्यतया हाइस्कुलका विद्यार्थीहरू पक्राउ परेमा परिवारसँग पैसा वा प्रभाव भए चेतावनी दिएर छोड्ने गरिन्छ।
एमनेस्टीको रिपोर्टले उत्तर कोरियामा वैचारिक नियन्त्रणका लागि सार्वजनिक मृत्युदण्डलाई ‘शिक्षा’ को रूपमा प्रयोग गरिने उल्लेख गरेको छ। किम युन्जुले आफू १६-१७ वर्षको हुँदा विद्यालयका विद्यार्थीलाई मृत्युदण्ड हेर्न बाध्य पारिएको अनुभव सुनाएकी छन्। दक्षिण कोरियाली मिडिया हेरेको वा वितरण गरेको आरोपमा मानिसहरूलाई मारिएको देखाएर डर फैलाइने गरिएको उनको भनाइ छ।
एमनेस्टी इन्टरनेशनलकी उप-क्षेत्रीय निर्देशक सारा ब्रुक्सले यी घटनाहरूले उत्तर कोरियाको डिस्टोपियन कानुनी प्रणाली र भ्रष्ट दमन उजागर गरेको बताएकी छन्। उनका अनुसार दक्षिण कोरियाली टिभी कार्यक्रम हेर्नु नै जीवनको मूल्य चुकाउनु सरह बनेको छ, विशेषगरी पैसा वा सम्बन्ध नभएकाहरूका लागि।
सन् २०२० मा लागू गरिएको ऐनले यस्ता सामग्रीलाई ‘सडेको विचारधारा’ भन्दै पाँचदेखि १५ वर्षसम्म जबरजस्ती श्रम वा मृत्युदण्ड को व्यवस्था गरेको छ। ‘१०९ समूह’ नामक विशेष इकाइले वारेन्टबिना घर र मोबाइल फोन जाँच गर्ने गर्दछ।
यद्यपि कडा प्रतिबन्धका बाबजुद चीनबाट युएसबीमार्फत तस्करी गरेर दक्षिण कोरियाली नाटक र गीत उत्तर कोरियामा अझै व्यापक रूपमा हेरिने र सुनिने गरिएको बताइएको छ।