काठमाडौँ । वैदेशिक अध्ययनका नाममा संयुक्त अरब इमिरेट्स (यूएई) पठाएर नेपाली विद्यार्थीहरूबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन वटा एजुकेसन कन्सल्टेन्सीविरुद्ध ठगी मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि पार्क भ्यु एजुकेसन कन्सल्टेन्सी, मर्सी एजुकेसन कन्सल्टेन्सी र सिटी हब एजुकेसन नेटवर्क ठगीको केन्द्रमा रहेको खुलेको हो। यी कन्सल्टेन्सीहरूले यूएईको शारजाहस्थित ब्रिट्स इम्पेरियल युनिभर्सिटी कलेजमा भर्ना गरिदिने भन्दै विद्यार्थीहरूबाट लाखौँ रुपैयाँ असुलेको अभियोग लगाइएको छ।
अभियोगपत्र अनुसार, कन्सल्टेन्सीहरूले सामाजिक सञ्जालमार्फत शतप्रतिशत भिसा ग्यारेन्टी, क्रेडिट ट्रान्सफर, भाषा परीक्षा नचाहिने, उच्च तलबको जागिर र युरोप, अमेरिका वा अस्ट्रेलिया पुग्ने सहज बाटो जस्ता भ्रामक आश्वासन दिएर विद्यार्थीहरूलाई प्रलोभनमा पारेका थिए।
आईटी अध्ययन गर्न दुबई पुगेका विद्यार्थीहरूले त्यहाँ पुगेपछि मात्र आफूहरू ठगिएको थाहा पाएका थिए। अनुसन्धानका क्रममा उक्त कलेज यूएईको उच्च शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त विश्वविद्यालय नभई साधारण तालिम केन्द्र मात्र रहेको खुलेको छ। कलेजले पछि नाम परिवर्तन गरी बिग एजुकेसन इन्स्टिच्युट राखेको र प्रदान गरिएका प्रमाणपत्रको कुनै अन्तर्राष्ट्रिय मान्यता नरहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयले समेत उक्त संस्थाबाट प्राप्त प्रमाणपत्रलाई समकक्षता दिन अस्वीकार गरेपछि विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको छ।
सरकारी वकिल कार्यालयले कन्सल्टेन्सी सञ्चालक मानव साह, रामचन्द्र टण्डन र सुवास सिलवाल क्षेत्रीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अनुसार ठगीको कसुरमा मुद्दा दायर गरेको छ। उनीहरूलाई सात वर्षसम्म कैद, जरिबाना तथा पीडितबाट असुल गरिएको करोडौँ रुपैयाँ बिगो ब्याजसहित फिर्ता गराउन माग गरिएको छ।
यता, शिक्षा मन्त्रालय र आबुधाबीस्थित नेपाली राजदूतावासले अनधिकृत कलेज र कन्सल्टेन्सीको भ्रामक प्रचारप्रति सचेत गराउँदै आए पनि विद्यार्थीहरू अझै जोखिममा परेको देखिएको छ।
कन्सल्टेन्सी सञ्चालकहरूले भने आफूहरूले ठगी नगरेको र प्रक्रियागत रूपमा मात्र विद्यार्थी विदेश पठाएको दाबी गरेका छन्।