काठमाडौं । भारतमा सर्पदंश एक गम्भीर स्वास्थ्य संकटका रूपमा देखा परेको छ । सरकारी तथ्यांकअनुसार हरेक वर्ष झन्डै ५० हजार भारतीय नागरिकको सर्पको टोकाईबाट ज्यान जाने गरेको छ ।
बीबीसीका अनुसार यो विश्वभर कूल सर्पदंश मृत्युमध्ये झन्डै आधा हो । केही अध्ययनहरूले सन् २००० देखि २०१९ को अवधिमा मात्र भारतमा १२ लाखको ज्यान गएको देखाएका छन् । ग्रामीण तथा गरिब समुदाय यसबाट सबैभन्दा बढी प्रभावित छन् । खेतीपाती गर्ने किसान, आदिवासी समुदाय र दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरू जोखिममा छन् ।
अस्पताल पुग्न ढिलाइ, खराब सडक, एम्बुलेन्सको अभाव र झारफुक तथा धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्तिले मृत्युदर अझ बढाएको छ । ग्लोबल स्नेकबाइट टास्कफोर्सको नयाँ प्रतिवेदनअनुसार भारतसहित ब्राजिल, इन्डोनेसिया र नाइजेरियामा गरिएको सर्वेक्षणमा ९९ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिभेनम अर्थात विषनाशक औषधि प्रयोग गर्न कठिनाइ भोगिरहेको बताएका छन् ।
अपर्याप्त तालिम, कमजोर पूर्वाधार र साइड इफेक्टको डरले पनि उपचारमा समस्या देखिएको छ । अहिले भारतमा उपलब्ध एन्टिभेनम केवल ‘बिग फोर’ सर्प—कोब्रा, क्रेट, रस्सेल्स भाइपर र स–स्केल्ड भाइपर—विरुद्ध मात्र प्रभावकारी छ ।
तर देशका विभिन्न क्षेत्रमा पाइने अन्य विषालु सर्पका लागि क्षेत्रअनुसारको एन्टिभेनमको अभाव छ, जसका कारण धेरै बिरामीले उपचारमा राम्रो प्रतिक्रिया नदेखाएको अध्ययनहरूले देखाएका छन् ।