काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी आशिका तामाङलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाम प्रयोग गर्दै आर्थिक सहयोग मागिएको र धम्की दिइएको खुलासा भएको छ।
माओवादीको लेटरहेड प्रयोग गरी ‘आर्थिक विभाग प्रमुख क. कविर’ को हस्ताक्षरसहित पत्र पठाएर पार्टी सञ्चालन तथा जनमुक्ति सेना परिचालनका लागि आर्थिक सहयोग आवश्यक रहेको दाबी गरिएको छ। पत्रमा परिवर्तनकारी आन्दोलनका लागि विशेष आर्थिक अभियान सञ्चालन भइरहेको उल्लेख गरिएको छ।
माघ १५ गतेको मितिमा पठाइएको पत्रमा ‘नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्न सशस्त्र जनविद्रोहको माध्यमबाट अघि बढिरहेको’ उल्लेख गर्दै आर्थिक, भौतिक तथा नैतिक सहयोग माग गरिएको छ। यद्यपि, पत्रमा कति रकम आवश्यक हो भन्ने स्पष्ट उल्लेख छैन। तर, तामाङका अनुसार फोन र म्यासेजमार्फत तत्कालका लागि ५० हजार रुपैयाँ माग गरिएको छ। पैसा नदिएको खण्डमा चुनावमा अवरोध गर्ने, असहयोग गर्ने तथा घुमाउरो भाषामा बम विस्फोट गराउने चेतावनीसमेत दिइएको उनले बताइन्।
तामाङको सचिवालयका एक सदस्यका अनुसार सुरुमा ती व्यक्तिहरूले चुनावमा सहयोग गर्ने बताएका थिए। पछि भने पैसा माग्दै धम्कीपूर्ण भाषा प्रयोग गर्न थालेका हुन्। उनका अनुसार, “सहयोग गर्छौं भनेर फोन गरे, पछि पैसा माग्न थाले। अहिले त पैसा नदिए चुनाव हुन दिन्नौं, बम पड्काउनेसम्मका कुरा गरेका छन्।”
ह्वाट्सएप र इनबक्स म्यासेजमा ‘केन्द्रीय पार्टीले जिल्लाबाट ५० हजार अपेक्षा गरेको’ उल्लेख गरिएको छ। साथै, ‘चुनाव लड्ने पैसा छ, सहयोग गर्ने पैसा छैन भन्नु मुर्खता हो’ जस्ता दबाबपूर्ण सन्देशसमेत पठाइएको छ।
यसैबीच, धम्की दिने व्यक्तिहरूले नेकपा (माओवादी) को नाममा चुनाव बहिष्कार, जनमुक्ति सेना पुनर्गठन, सशस्त्र जनविद्रोह तथा फागुन २० र २१ गते नेपाल बन्द गर्ने उल्लेख भएका पर्चा-पम्प्लेट र विज्ञप्तिहरू पनि पठाएका छन्। तर, पार्टीको नाम र हस्ताक्षर गर्ने महासचिवको नामबीच विरोधाभास देखिएको छ।
नेकपा (माओवादी) हाल नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको भए पनि केही पत्रमा अर्कै नेताको नाम प्रयोग गरिएको पाइएको छ, जसले घटनालाई अझ शंकास्पद बनाएको छ।
आशिका तामाङले आफूलाई आइरहेका धम्की र ब्ल्याकमेलिङबारे प्रहरीमा उजुरी गर्ने तयारी गरिरहेको बताएकी छन्।