काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै आजबाट घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण सुरु गरेको छ। असक्त तथा वृद्ध नागरिकलाई अस्पताल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।
कार्यवाहक मेयर सुनिता डंगोलले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा अब अस्पतालमै सीमित नरहने बताएकी छन्। उनका अनुसार महानगरले घरदैलोमै स्वास्थ्य सर्वेक्षण, नियमित परीक्षण, परामर्श, आवश्यक औषधि उपलब्ध गराउने तथा जटिल अवस्थामा अस्पतालसम्म लैजान सहजीकरण गर्नेछ।
वक्तव्य जारी गर्दै डंगोलले भनिन्, “अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन। ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा काठमाडौं महानगरपालिकाले आजबाट सुरु गर्दैछ। स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवर्द्धनसम्म, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण-सबै सेवा घरदैलोमै उपलब्ध हुनेछ।”
‘असक्त हुँदा महानगरपालिकाको सेवा, ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा’ भन्ने नारासहित अभियान सुरु गरिएको उनले जानकारी दिइन्। यस सेवाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा सुधार ल्याउनुका साथै परिवारमाथिको आर्थिक तथा मानसिक बोझ पनि कम हुने अपेक्षा गरिएको छ।
महानगरपालिकाका अनुसार चरणबद्ध रूपमा सबै वडामा सेवा विस्तार गरिनेछ।