एजेन्सी । युक्रेनले पाँचवटा रुसी सैन्य अड्डालाई लक्षित गर्दै गरेको ड्रोन आक्रमणमा करिब १ अर्ब अमेरिकी डलर बराबरका रुसी सैन्य विमान ध्वस्त पारेको दाबी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘अपरेशन स्पाइडरवेब’ नाम दिइएको यस कारबाही युक्रेनको सुरक्षा सेवा (एसबीयू) ले सञ्चालन गरेको हो।
एसबीयूका अनुसार फरक-फरक पाँच सैन्य अड्डामा गरिएको समन्वित आक्रमणमा १५ वटा रुसी सैन्य विमान नष्ट भएका छन्। तीमध्ये ११ वटा सुखोई र मिग लडाकु विमान, तीन वटा हेलिकप्टर र एक एन्टोनोभ एएन-२६ कार्गो विमान रहेका छन्।
नष्ट गरिएका विमानहरूमा सु-३०एसएम, सु-३४, सु-२७, सु-२४ तथा मिग-३१ इन्टरसेप्टर समावेश छन्। मिग-३१ विमान रुसी हवाई प्रतिरक्षा प्रणालीको महत्वपूर्ण अंग मानिन्छ, जसबाट हाइपरसोनिक ‘किन्झाल’ मिसाइल प्रक्षेपण गरिने बताइन्छ। यससँगै, रुसी यातायात तथा रसद क्षमतामा पनि गम्भीर क्षति पुगेको युक्रेनको दाबी छ। आक्रमणमा एमआई-८, एमआई-२६ र एमआई-२८ हेलिकप्टरहरू नष्ट भएको बताइएको छ।
युक्रेनले आक्रमणको ठ्याक्कै मिति सार्वजनिक नगरे पनि यो कारबाही युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको चार वर्ष पूरा हुन लाग्दा सार्वजनिक गरिएको हो। लामो समयदेखि जारी युद्धका कारण लाखौँ युक्रेनी विस्थापित भएका छन् भने देशको आर्थिक र सामाजिक जीवन गम्भीर रूपमा प्रभावित भएको छ। यसअघि पनि एसबीयूको ‘अल्फा इकाइ’ ले रुसी मिसाइल लञ्चर र उन्नत राडार प्रणालीहरू नष्ट गर्दै करिब ४ अर्ब डलर बराबरको क्षति पुर्याएको दाबी गरिएको थियो।
यता, रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण तीव्र बनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा कठ्याङ्ग्रिने चिसोमा आम नागरिकहरू गम्भीर समस्यामा परेका छन्। एक वरिष्ठ युक्रेनी सांसदले आगामी तीन हप्ता अत्यन्तै कठिन हुने चेतावनी दिएका छन्।
पछिल्ला दिनहरूमा ओडेसा बन्दरगाह क्षेत्रमा भएका आक्रमणमा २२ जना घाइते भएका छन्। त्यस्तै, एक आवासीय भवनमा भएको आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको समाचार आएको छ। युद्ध अझै अन्त्यको नजिक नपुग्दा मानवीय संकट झन् गहिरिँदै गएको छ।