काठमाडौं। चर्चित बलिउड पाश्र्वगायक कैलाश खेरले आगामी नेपाली फिल्म ‘शिवांश’ का लागि गीत गाएका छन्। खेरको आवाजमा रहेको ‘शिव ताण्डव’ गीत युट्युबमार्फत सार्वजनिक भइसकेको छ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने ‘शिवांश’ फिल्म १ फागुनदेखि देशभर प्रदर्शनको तयारीमा छ। यो गीतसँगै कैलाश खेरको नेपाली फिल्ममा तेस्रो सहभागिता हो। यसअघि उनले सन् २०१० मा रिलिज भएको नेपाली फिल्म ‘काठमाण्डू’ को शीर्ष गीत गाएका थिए भने सन् २०१५ मा सुष्मा राणासँग ‘फूलको थुंगा’ गाएका थिए।
फिल्मका निर्माताले बिहीबार सार्वजनिक गरेको पोस्टरमार्फत खेरको गीत फिल्ममा समावेश भएको जानकारी दिएका हुन्। साथै, खेरले नेपाली दर्शकलाई लक्षित गर्दै भिडियो सन्देश जारी गरेका छन्, जसमा उनले नेपाल-भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको चर्चा गरेका छन्।
नेपाली श्रोताबाट पाउँदै आएको मायाप्रति आभार व्यक्त गर्दै खेरले भनेका छन्, “नेपालका फ्यानले मलाई र मेरा गीतलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि मसँग धन्यवादका शब्द छैनन्।” खेरले ‘शिव ताण्डव’ गीतलाई नेपाल-भारत मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गर्दै यसपटकको प्रस्तुति विशेष रहेको बताएका छन्। “भारत-नेपाल मैत्री सम्बन्धको सौजन्यबाट तयार गरिएको यो ताण्डव स्तोत्रम् गाउने अवसर पाउनु मेरो लागि गर्वको कुरा हो,” उनले भने।
सन्तोषकुमार आत्रेयको निर्देशनमा बनेको फिल्मका निर्माता अञ्जान केसी हुन्। फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बु र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। सह-निर्मातामा शोभा भण्डारी र अनिश केसी बोगटी रहेका छन् भने पटकथा बारत लिम्बुले लेखेका हुन्।