काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्गको निर्माण कार्य ४५ प्रतिशत सम्पन्न भएको छ । नेपाली सेनाले आयोजना निर्धारित समय र प्रारम्भिक लागतभित्रै पूरा हुने दाबी गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले ललितपुरको खोकनास्थित द्रुतमार्ग निर्माण क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय समुदायका सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्न निर्देशन दिएकी छन् । सडक निर्माण कार्यदलद्वारा आयोजित कार्यक्रममा उनले विकास निर्माणका क्रममा धार्मिक आस्था र सांस्कृतिक सम्पदामा कुनै पनि प्रकारको असर पर्न नहुने स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, “स्थानीयवासीका सरोकारलाई गम्भीर रूपमा ध्यान दिएर समाधान खोज्नुपर्छ । आवश्यक परेमा रेखाङ्कन र जिरो बिन्दुसमेत परिवर्तन गर्न तयार हुनुपर्छ । विकासका नाममा कसैको विश्वासमा चोट पुग्नु हुँदैन ।”
निरीक्षणका क्रममा प्रधानसेनापति अशोकराज सिग्देल र आयोजनाका प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको प्रगति, प्राविधिक चुनौती तथा भावी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
कुल ७०.९७७ किलोमिटर लम्बाइको द्रुतमार्ग आयोजनामा ८७ भन्दा बढी पुल निर्माण गर्नुपर्नेछ, जसमा ८२ मिटर उचाइसम्मका केही विशिष्ट प्रकृतिका पुल पनि रहेका छन् । आयोजनाअन्तर्गत ७ वटा सुरुङ निर्माण भइरहेका छन् । अग्ला पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको सेनाले जनाएको छ ।
आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँभित्रै निर्माण कार्य सकिने सेनाको दाबी छ । निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्र मन्त्री तथा विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
काठमाडौं उपत्यका र मध्यतराईलाई छोटो दूरीमा जोड्ने यो द्रुतमार्ग निर्माणपछि सामान ढुवानीको समय र लागत उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई गति दिने विश्वास सरकारको छ ।