काठमाडौं । नेपाली सेनाले महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा आयोजना गर्ने ११औँ प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२ आगामी माघ २४ गते (शनिबार) काठमाडौंमा आयोजना हुने भएको छ। प्रतियोगिता ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित सञ्चालन गरिनेछ।
खेलकुदमार्फत सामाजिक एकता सुदृढ बनाउने र नागरिक-सैनिक सम्बन्ध प्रगाढ गर्ने उद्देश्यका साथ सन् २०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको यो एघारौँ संस्करण हो। प्रतियोगितामा म्याराथन (४२.१९ कि.मि.), हाफ म्याराथन (२१ कि.मि.), १० कि.मि. दौड, ५ कि.मि. वाकाथन र ५ कि.मि. दौड गरी पाँच विधा समावेश गरिएका छन्। म्याराथन विधा पुरुष खुल्ला रहनेछ भने हाफ म्याराथन महिला तथा पुरुष दुवैका लागि खुल्ला हुनेछ।
१० कि.मि. दौडमा सैनिक अधिकृत, सैनिक सहचारी तथा सहचारी कार्यालयका कर्मचारी, सैनिक महाविद्यालय तथा अवकाश प्राप्त वा सेवारत सैनिकका कक्षा १०-१२ मा अध्ययनरत सन्तान, साथै गैरसैनिक कक्षा १०-१२ मा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन्। ५ कि.मि. वाकाथनमा प्रमुख अतिथि तथा आमन्त्रित विशिष्ट व्यक्तित्वहरू सहभागी हुनेछन् भने ५ कि.मि. दौडमा सैनिक महाविद्यालयका कक्षा ७-९ मा अध्ययनरत छात्र-छात्राले प्रतिस्पर्धा गर्नेछन्।
नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख मदनजंग राणाले प्रतियोगिता खुल्ला भएकाले स्वदेशी खेलाडीका साथै विदेशी खेलाडीहरूलाई पनि सहभागिताको अवसर दिइने जानकारी दिए। समय अभावका कारण यस वर्ष विदेशी खेलाडीलाई व्यवस्थित रूपमा समावेश गर्न नसकिए पनि आगामी संस्करणमा यसलाई विस्तार गरिने उनको भनाइ छ।
नेपाल एथ्लेटिक्स संघका सचिव आरके विष्टले प्रधानसेनापति खुल्ला म्याराथनले नेपाली एथ्लेटिक्सको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।