एजेन्सी । विश्वकै प्रतिष्ठित चलचित्र अवार्ड मानिने ९८ औं एकेडेमी अवार्ड (अस्कर) का लागि मनोनयन सार्वजनिक भएको छ। कलाकार लुइस पुलम्यान र ड्यानियल ब्रुक्सले बिहीबार बेलुका (नेपाली समयानुसार) सन् २०२६ का लागि मनोनयन घोषणा गरेका हुन्।
यस वर्ष कुल २४ विधामा मनोनयन गरिएको छ। सर्वश्रेष्ठ फिल्म विधामा १० चलचित्र प्रतिस्पर्धामा छन् भने अन्य सबै विधामा ५-५ मनोनित चयन गरिएका छन्। मनोनित चलचित्रहरूमाथि अन्तिम मतदान २६ फेब्रुअरीदेखि सुरु हुने एकेडेमीले जनाएको छ। मनोनयन सूचीमा सबैभन्दा धेरै चर्चा बटुलेको फिल्म ‘सिनर्स’ बनेको छ, जसले १६ विधामा मनोनयन प्राप्त गर्दै अस्कर इतिहासमै सर्वाधिक विधामा मनोनयन पाउने फिल्मको कीर्तिमान कायम गरेको छ। त्यस्तै ‘वान ब्याटल आफ्टर एनदर’ १३ विधामा मनोनित भएको छ।
सर्वश्रेष्ठ फिल्म विधामा ‘बुगोनिया’, ‘एफ-वान’, ‘फ्रान्केन्सटाइन’, ‘ह्याम्नेट’, ‘मार्टी सुप्रिम’, ‘वान ब्याटल आफ्टर एनदर’, ‘द सेक्रेट एजेन्ट’, ‘सेन्टिमेन्टल भ्यालु’, ‘सिनर्स’ र ‘ट्रेन ड्रिम्स’ प्रतिस्पर्धामा छन्।
अभिनयतर्फ सर्वश्रेष्ठ अभिनेत्री विधामा जेसी बकली, रोज बायरन, केट हडसन, रेनाटे रेइन्सवे र एम्मा स्टोन मनोनित हुँदा सर्वश्रेष्ठ अभिनेता विधामा टिमोथी शालामे, लियोनार्डो डिकाप्रियो, इथान हक, माइकल बी। जोर्डन र वाग्नर मोराले स्थान बनाएका छन्।
प्राविधिक विधातर्फ भिजुअल इफेक्ट्स, ध्वनि र छायांकनमा पनि ठूला बजेट र कलात्मक फिल्मबीच कडा प्रतिस्पर्धा देखिएको छ। अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ ब्राजिल, फ्रान्स, नर्वे, स्पेन र ट्युनिसियाका चलचित्र मनोनित भएका छन्।
९८ औं अस्कर अवार्ड वितरण समारोह १५ मार्च २०२६ मा आयोजना हुनेछ।